नेपालगन्जका मेयरलाई विद्धानको सुझाव

  ।   २०८० असार २२, शुक्रबार ०८:४९

  • डिल्ली बि.सी.

नगर प्रमुख ज्यू,

नेपालगञ्ज शहरका बारेमा नेपालगन्ज उपमहानगरपालिकाले आफै “यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगन्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो”  भनिएको छ । यो सत्य नै तथ्य हो । यस नगरलाई अझै बृहत्त र शहर बनाउने निर्णय अनुसार २०७३ फागुन २७ गतेको साविकका १० वटा गाविसलाई यसै शहरमा गाभेर संघीय सरकारले तत्कालिन १६ वटा वडाबाट २३ वडा बनाएर नेपालगन्जलाई उपमहानरपालिका शहर बनाइयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अनुसार नेपालमा तीन तहको सरकार विद्यमान छ । विधायिकीय शासन सहितको स्थानीय तह जनताको प्रत्यक्ष पहुँचको सरकार हो । यो तह संचालनका लागि एकल अधिकार सहितको स्थानीय सरकार सञ्चालन ऐन २०७४ विद्यमान छ । यसका साथै स्थानीय सरकारमा विपक्ष वा अल्पमत र बहुमतको समेत परिकल्पना नगरी नागरिकका समस्यालाई च्वाट्टै समाधान गर्न अवरोध विहिन कानुनी व्यवस्था समेत छ । हाल अन्य स्थानीय तहजस्तै नेपालगन्ज उपमहानगरपालिकाले दोस्रो कार्यकालका लागि जनप्रतिनिधिको दोस्रो वर्षको बागडोर तय गर्ने शुभ अवसरका छ ।

यस वर्ष नगर प्रमुख प्रशान्त बिष्ट आगमी वर्षको नीति तथा कार्यक्रम मात्रै हैन, आफनो कार्यकालको रक्षाबन्धनका लागि र नेपालगन्जबासीको भविष्यको शुत्रधार गर्ने नीति प्रस्तुत समेत गर्नु भयो । यस विषयमा नगरसभाका सदस्यहरुले आफना मत र वितमीहरु सोही स्थानमा प्रक्रियागत रुपमा राख्नु होला तर समग्रमा यो नीति कार्यक्रम र नगर प्रमुख बिष्टको उमेर भोगाइ अनुभव कहिकतै कुनै क्षेत्र वा विषयमा नयाँपन या स्याबास यो हो नी,अथवा यो गर्नै नहुने भनि विमती जनाउने कुनै प्रसंग छैन । केही क्षेत्रमा विद्यार्थी आन्दोलनले शिक्षालय परिसरमा लगाउने नारा जस्ता गन्तव्य र लयनमिलेका श्लोगन मात्रै छन । यसले नेपालगन्जलाई शहर हैन, नत रहर तन कुनै प्रहर विनाको पुस्तिका मात्रै हो ।

विद्यार्थी आन्दोलनबाट आमनागरिको भविष्य बनाउने सपना बोकेको नगर प्रमुख हुनु पर्ने हो, तर कुनै आँट र विवेक मन्थन नगरिएको खिया लागेको पाइपमा जेनातेना पानी बगे जस्तो गर्नै पर्ने कर्मकाण्डी नीति अक्षर मात्रै छ । नीति त सपना बोकेको, पक्ष र विपक्षबीचको मतमतान्तरको मन्थन गर्ने, जोसले भरिएको, होस सहितको कल्पना, विपना देखेको सपना हुनु पर्ने हो । सोही बमोजिमको अपेक्षा गरिएको थियो । यो नीति उहाँका लागि कार्यकालको पहिलो र अन्तिम नीति पनि हो । किन कि अब ३ वर्षमा नेपालगन्जलाई पहिचान सहितको शहर बनाउने दिन हो । कुनै जोस, कुनै आशा र सपना नबोकेको नीतिका लागि किन प्रशान्त नै नगर प्रमुख हुनु पर्दछ । एकथान नाम र तस्विर भित्तामा राख्नकै लागि हो भने यो युवा, अनुभवी, बिद्यार्थी आन्दोलनमो उपज जस्ता विशेषणको कुनै खाँचो नै थिएन । नगर प्रमुख विष्टले के सुन्दर सपना देख्नु हुन्न वा नेपालगन्जलाई आवश्यक छैन, कि उहाँसँग सपना सुनिदिने समुह (टिम) छैन ।

नगर प्रमुख बिष्टले स्वीकार गर्नु भएको नेपालगन्जको पहिचान “बहुधार्मिक, बहुभाषिक र बहु संस्कृति परिवेश भएतापनि जातजाति सम्प्रदायहरु बिचको आपसी भाईचारा, सदभाव र प्रेम भाव शहरको ढुकढुकी हो भन्दा अतिशयोक्ति नहोला ।” (नीति तथा कार्यक्रम २०८०) हो भने आपसी भाईचारा, सदभाव र प्रेम भाव शहरको ढुकढुक बनाउने नगरबासीलाई उहाँले आर्थिक पक्षको उन्निती, शसक्तिकरण, सुधार र दिगोपनाका लागि गर्ने योजना छ ? सामाजिक पक्षको बलियो बनाउने के कार्य र योजना छ ? साँस्कृति पक्षको पहिचान, संरक्षण, प्रवद्र्धन र आकर्षणका के विधि छन ? फगत अक्षरमा त कोर्ने चेष्टा गर्नु भएको छैन उपभोग, उपयोग र उपादेयताको कुरा कल्पना समेत गर्न सकिदैन ।

पश्चिम नेपालको द्धार हैन, गन्तव्यः नेपालगन्ज केवल द्धारका रुपमा परिचत गराउनु भन्दा पनि गन्तव्यका लागि परिचित गराउने योजना हुनु पर्दछ । किन भने बैदेशीक सीमाका हिसावले पनि यो अति महत्वपूर्ण छ । साविक मध्य र सूदुरको अनिवार्य केन्द्र हो । भारत प्रबेशको नाका हो । बटुवाको रुपमा आएका सम्मलाई एक रात थकाइ मेटाउने मनोरम ताल, सुन्दर बगैचा, शैक्षिक अध्ययन र स्वास्थ्य परिक्षणको गन्तव्य र विकल्पको रुपमा स्थापित गराउन यहाँका धार्मिक मन्दिर, मस्जित, गुम्बा र गुरुद्वाराका अतिरिक्त प्रसस्त सरकारी जमिनको परिवर्तित समाज अनुसारको साजसज्जा गर्न सकिन्छ । यति मात्रै हैन बबईको पानी बाँकेमा निश्चित परिधीमा नदीका रुपमा किन निर्माण गर्ने सोच नराख्ने । नेपालगन्ज गन्तव्यका लागि नरैनापुर र राप्तीसोनारीका पहाडबाट किन पर्यापर्यटन सहयोगी हुन सक्दैनन ? यसका लागि नीति, विधि र नेतृत्वको खाँचो छ । यो खाँचो अहिले नगरे फेरी अर्को आवाधिक निर्वाचन पर्खनु बुद्धिमता हुन सक्दैन । अवसर सधै आउदैनन । आएको अवसर गुम्न दिनु हुँदैन ।

फराकिलो सोचको खाँचोः वर्तमान नेपालगन्जको नेतृत्व साँगुरो सोच र संकुचित मानसिकतामा रुमलिनुको अर्थ छैन । नेपालगन्ज जसरी पनि यो महानगरपालिका हुने नै छ । यसले राप्ती नदि र मानखोलालाई आफ्नो भावि सीमा ठानेर वर्तमानमा योजना बनाउन अनिवार्य छ । यतिमात्रै हैन हालका पूर्वाधार चराका गुड जस्ता हैन अरबी टापको जस्तो द्रुत गतिको निर्माण गर्ने सोचको विकास गर्न जरुरी छ । विकास केवल निर्माणका लागि हैन ? यहाँका इन्जिनियरिङ्ग कंक्रिटको ढिस्को हैन कि सुन्दर र मनोरम आनन्द प्रदान गर्ने सोचको निर्माण हुनु पर्दछ । केवल फित्ते पासका संरचना भन्दा सार्वजनिक र नीति संरचना सौन्दर्यताको प्रतिकका आधारमा निर्माण गर्ने सोचको विकास गर्न अनिवार्यता छ ।

अन्तमा यो शहर हो । गल्ली हैन । गल्ली निर्माणका लागि सामान्य कार्य हो । समुदायलाई सपना बाँड्ने र सोच्ने बनाउने नेतृत्वको भुमिका हो । नेतृत्व आफै सपना देख्न पनि सक्छ अन्यथा सपना साट्न पनि सक्नु पर्दछ । शहरलाई अझै गल्लीमा परिनत गर्ने सोचलाई सन्ततिलेश्राप्न पनि सक्छन । नेपालगन्ज सामान्य विकासे वा कार्यसूची पुरा गरेर टिक लगाएर कार्यसम्पादन हुने स्थान हैन । अहिले बृहत्तर नेपालगन्जको रुपरेखा निर्माणका लागि मौलिक नेपालगन्ज, अवध संस्कृतिको केन्द्र नेपालगन्ज र भौगोलिक र समुदायको मध्यस्थताको नेपालगन्ज निर्माण मेयरको काँधमा छ ।

लेखक नेकपा एमाले बाँकेका उपाध्यक्ष हुनुहुन्छ ।

Next Post

कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण, ३ सदस्यीय मन्त्रिपरिषद गठन

२०८० असार २२, शुक्रबार ०८:४९
विराटनगर । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको छ । पहिलो चरणमा नेकपा […]