प्रेम विश्वकर्मा, भालुवाङ्ग दाङ्ग ।
लुम्विनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले सञ्चार क्षेत्रको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनका लागि तत्काल पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिले मंगलबार भालुवाङ्ग, दाङ्गमा आयोजना गरेको अनलाइन सम्पादक लक्षित प्रशिक्षण तालिमको उद्दघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सञ्चारमा रहेका साथीहरुलाई सहयोग गर्न साथमै छु ।’ मन्त्री पाण्डेयले दुरदराजका बिषय सत्य, तथ्यमा आधारित रहेर बाहिर ल्याउन सके जनताले विश्वास गर्ने भन्दै आफुलाई प्रविधिमा अपडेट गरेर अघि बढ्न अनलाइन सम्पादकहरुलाई आग्रह पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले स्वतन्त्र ब्यक्ति पाउन गाह्रो भइसक्यो । ठुलो मान्छेको समाचार लेखेर चर्चित हुन्छु, भन्ने नसोचौं । राजनीतिक ब्यक्ति जस्तो नबनौं, मर्यादित गौरव गर्न लायक पेशा बनाउन लागौं ।’
तालिमको उद्दघाटन समारोहलाई समापन गर्दै नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीले ऐन, कार्यविधि निर्माणमा भएको ढिलाईकै कारण चालु आर्थिक बर्ष २०७९⁄०८० मा सञ्चार क्षेत्रका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ भन्दा बढीको बजेट फ्रिज हुने अवस्थामा पुगेको भन्दै मन्त्री पाण्डेयलाई ध्यानाकर्षण समेत गराउनुभयो ।
साथै उहाँले मन्त्रालयको नामबाट सञ्चार प्रविधि शब्द हटाईएकोमा गुनासो समेत गर्नुभयो । यस्तै अध्यक्ष गिरीले आफु क्षमतावान नभए श्रमजिवी पत्रकार ऐन, कार्यान्वयन हुन नसक्ने भएकाले क्षमतावान बन्न अनलाइनका सम्पादक तथा पत्रकारहरुलाई आग्रह पनि गर्नुभयो ।
आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको सहयोगमा आयोजना गरिएको अनलाइन सम्पादक लक्षित प्रशिक्षण तालिममा सहभागी सबैलाई आयोजकको तर्फबाट उपाध्यक्ष चुमा आचार्यले स्वागत गर्नुभएको थियो ।
तालिम यही जेठ १९ गतेसम्म चल्ने तालिमका संयोजक प्रेम नारायण आचार्यले जानकारी दिनुभयो । प्रशिक्षण तालिममा लुम्विनी प्रदेश अन्र्तगत पर्ने १२ वटै जिल्लाका अनलाइन सम्पादक तथा पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षक भने पाल्पा विकास केन्द्रका किरण कौशल र अनलाइन खबर डटकमका डेक्स सम्पादक सुफल काप्ले रहनुभएको छ ।