उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित

  ।   २०७९ चैत्र ३, शुक्रबार १६:४४

संवाददाता, काठमाडौँ  ।

नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्नुभयो । उहाँले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाउनुभएको छ ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ । उहाँ जसपाका संसदीय दलका नेतासमेत हुनुहुन्छ । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिनुभएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गर्नुभएको छ । शिक्षण पेसा त्यागेर उहाँले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

त्यसपछि उहाँ मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिवसमेत बन्नुभयोे । २०६४ मा बारा–२ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

तीनवटै मधेस आन्दोलनमा सक्रिय सहभागी उहाँले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

इकान्तिपुरबाट

Next Post

सम्बन्धित शीर्षक