संवाददाता ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्नुभएको छ । विश्वासको मत लिन उहाँले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे ।
नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गर्नुभएको छ ।
उहाँलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ । विश्वासको मतको विपक्षमा २ सांसदले मत दिएका छन् ।
सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार आजको बैठकमा २७० सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् ।
१२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् । एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
उहाँ नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाले पनि विश्वासको मत दिएका छन् । सदनमा बोल्दै प्रचण्डले प्रतिपक्ष दलको पनि समर्थनसहित आफूले असाधारण मत पाएको बताउनुभयो ।
सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले भन्नुभयोे, ‘मैले समग्रमा जे अपिल गरे । त्यसको निकै नै सकारात्मक जवाफ प्राप्त भएको छ । म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’
नेपाल प्रेसबाट