संवाददाता ०२ कार्तिक २०७९ ।
भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत हुनुभएको छ । भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे ७ हजार ८ सय ९८ मत ल्याएर कांग्रेस अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
थरुरले भने १ हजार ७२ मत ल्याउनुभएको थियो । कांग्रेसका ९ हजार ७ सयमध्ये ९ हजार ५ सय प्रतिनिधिले चुनावमा मतदान गरेका थिए ।
सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले खड्गेको उम्मेदवारीलाई समर्थन गरेकाले उहाँले चुनाव सहज रुपमा जित्ने अनुमान पहिलेदेखि नै गरिएको थियो ।
१ सय ३७ वर्षअघि स्थापना गरिएको कांग्रेस पार्टीको प्रमुख छान्नका लागि छैटौं पटक चुनाव भएको हो । कांग्रेस पार्टीमा अध्यक्षमा गान्धी परिवार बाहिरका सदस्य २४ वर्षपछि निर्वाचित हुनुभएको हो ।
सन् १९९८ मा सीताराम केसरीलाई अपमानपूर्ण रुपमा पार्टी सभापतिबाट अपदस्थ गरिएको थियो । त्यसपछि १९ वर्षसम्म सोनिया गान्धी कांग्रेस नेता बन्नुभयो । २०१७ मा राहुल गान्धी सर्वसम्मत अध्यक्ष बने पनि २ वर्षपछि नै राजीनामा दिनुभयो ।
२०१९ मा भएको चुनावमा पराजित भएपछि उहाँले राजीनामा दिनुभएको थियो । दलित समुदायका खड्गे कर्नाटका राज्यका बासिन्दा हुनुहुन्छ । ८० वर्षका खड्गे १९४२ मा बिदार जिल्लामा जन्मिनुभएको थियो ।
उहाँको हुर्काइ भने छिमेकी जिल्ला गुलवार्गमा भयो । कानुनको अध्ययन गर्नुभएका उहाँ मजदुर संगठनको प्रतिनिधिको रुपमा राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
यद्यपि विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा चासो राख्ने गरेको बताइन्छ । खड्गे १९६९ मा कांग्रेस पार्टीमा संलग्न हुनुभएको थियो । पार्टीका राज्य प्रमुख देवराज उर्सले उहाँलाई माथिल्लो जातको प्रभुत्व रहेको गुर्मत्कालबाट चुनाव लड्ने जोड दिनुभएको थियो । सो निर्वाचन क्षेत्रबाट उहाँ लगातार नौ पटक सांसद निर्वाचित हुनुभएको छ ।
उहाँले पार्टीलाई पुनर्संरचना गर्ने बताउनुभएको छ । केन्द्रमा कम्तीमा आधा नेताहरू ५० वर्षभन्दा कम उमेरका हुने पनि बताउनुभएको छ ।
इकान्तिपुरबाट