नेपालगन्ज :प्रतिनिधिसभा निर्वाचन–२०७९ मा बाँकेको क्षेत्र नं. २ मा निकै कडा प्रतिष्पर्धा हुने भएको छ । यो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्रलगायतका ठूला दलले उम्मेदवारी दिएका छन् । डुडुवा गाउँपालिकाका ६ वडा र नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामध्ये २१ वडा रहेको बाँके क्षेत्र नं. २ मा ९७ हजार ८०९ मतदाता छन् । स्थानीय तह निर्वाचन–२०७९ मा दलले पाएको वडागत विजयको परिणाम र अघिल्लो संसदीय निर्वाचनमा पाएको मतका आधारमा उम्मेदवारको अवस्थालाई विश्लेषण गरिएको छ ।
मो.इतियाक राई –जसपा नेपाल
बाँके क्षेत्र नं. २ का बहालवाला सांसद मो.इस्तियाक राई निर्वाचन क्षेत्रमा दोहोरिने दाउमा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनका पशुपति दयाल मिश्रलाई राईले ६ हजार ६२४ मतले पराजित गरेका थिए । राईले २१ हजार ५७५ र मिश्रले १५ हजार ९५१ मत ल्याएका थिए । यो निर्वाचनमा एमालेले उम्मेदवारी दिएको छैन । एमाले–राप्रपा गठबन्धन बनेको छ । अर्कोतिर सत्ताधारी दलको अर्को वाम–प्रजातान्त्रिक गठबन्धन पनि छ । यी दुबै गठबन्धनबाट राई एक्लिएका छन् । स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा भने राई सबै उम्मेदवारभन्दा बलियो देखिन्छ । निर्वाचन क्षेत्रका कूल २७ वडामध्ये एक तिहाइ अर्थात ९ वटा वडा (डुडुवा गाउँपालिका वडा नं. २, ३ र ४ का साथै नेपालगन्जमा वडा नं. ५, १३, १४, १५, २० र २२) मा जितेको छ । नेपालगन्जमा उपप्रमुख पनि जसपाकै छन् । स्थानीय तहको मतका आधारमा एक्ला एक्लै दलको कुरा गर्दा जसपा पहिलो पार्टी हो । राईले निर्वाचन जित्न दुबै गठबन्धनका नेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।
सुदीप नरसिंह राणा–नेका
बाँके क्षेत्र नं. २ लाई नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको क्षेत्रको रुपमा पहिचान गराउँछ । कोइरालाको निधनपछि यो निर्वाचन क्षेत्रमा कांग्रेसले उत्तराधिकारी पाएको छैन । वाम–लोकतान्त्रिक गठबन्धनबाट यो निर्वाचन क्षेत्रमा कांग्रेसले सुदीप नरसिंह राणालाई उम्मेदवार बनाएको छ । यो निर्वाचन क्षेत्रका कूल वडामध्ये डुडुवा–१ र नेपालगन्ज उपमहानगरपालिकामा १२, १९, २१ र २३ नं. वडा गरी ५ वडामा कांग्रेसले जितेको छ । नेपालगन्जमा नगर प्रमुख र डुडुवामा अध्यक्ष/उपाध्यक्ष कांग्रेसकै उम्मेदवार छन् । गठबन्धनको दल नेकपा एकीकृत माओवादीको पनि समर्थन हुँदा वडाको संख्या ३ थपिएर ८ पुग्छ । माओवादी केन्द्रले वडा नं. ३, ४ र ११ मा जितेको छ । यो निर्वाचन क्षेत्रको क र खमा पनि कांग्रेसकै उम्मेदवार छन् । माओवादीले बाँके क्षेत्र नं. २ ख बाट उम्मेदवारी दर्ता गरेर मित्रवत् प्रतिष्पर्धा गरिरहेको छ ।
डा.धवल शम्शेर राणा–राप्रपा
नेपालगन्ज नगरमा दुई पटक नगर प्रमुख जितेर डा.धवल शम्शेर राणा पहिलो पटक संसदीय अनुभव संगाल्ने दाउमा छन् । राप्रपाका महामन्त्रीसमेत रहेका राणा एमालेसँग गठबन्धन गर्दा निर्वाचनमा मत परिणाम आफ्नो पोल्टामा पार्न सकिन्छ कि भनेर लागेका छन् ।
अघिल्लो संसदीय निर्वाचनमा राप्रपाका ओमप्रकाश आजाद तेस्रो स्थानमा आएका थिए । उनले ११ हजार ६२२ मत ल्याएका थिए । स्थानीय तह निर्वाचनमा एमालेले डुडुवा गाउँपालिकामा ५ र ६ नं. वडाका साथै नेपालगन्जमा १, ६, ७, ९, १८ गरी निर्वाचन क्षेत्रका कूल वडामध्ये ७ वटा वडामा जितेको छ । राप्रपाले पनि नेपालगन्जमा वडा नं. २, ८ र १० मा जितेको छ । वडागत रुपमा यो गठबन्धन बलियो देखिएको छ । राणाको पालामा नगरमा कालोपत्रे सडक, नाला लगायतका भौतिक पूर्वाधार निर्माण भएकाले राणा मतदातालाई आकर्षित गर्न लागेका छन् ।
बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रमुख दलका यिनै तीन उम्मेदवारमध्ये एकले बाजी मार्नेमा दुई मत छैन तर विजय कसको पोल्टामा पर्छ अहिले नै आँकलन गर्न गाह्रो छ । यो निर्वाचन क्षेत्रमा ५ स्वतन्त्र गरी विभिन्न दलका १६ जना उम्मेदवारले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अघिल्लो संसदीय निर्वाचनमा यो क्षेत्रबाट कूल ८२ हजार ९४७ मतमध्ये ७१.२५ प्रतिशत मत मात्र खसेको थियो । अर्थात ५९ हजार १०१ मत खसेको थियो । त्यो मध्येपनि ४ हजार ८२८ मत बदर भएको थियो । ८ प्रतिशत (७.९९ प्रतिशत) मत बदर भएको थियो । बाँके जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तका अनुसार प्रतिनिधिसभा निर्वाचन–२०७४ भन्दा यो निर्वाचन क्षेत्रमा १४ हजार ८६२ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनभन्दा पनि मतदाता थपिएकाले विगतको मतकै आधारमा कसको जित हार हुन्छ आँकलन गर्न गाह्रो छ ।