टोले भीडन्त र नेपालगञ्ज (भाग – २)

  ।   २०७९ आश्विन १२, बुधबार १९:३८

नरेन्द्रजङ्ग पिटर

गत अङ्कको टोले भीडन्त लेखी प्रकाशनपछि, पाठक र भुक्तभोगीले भीडन्तका कारकहरूका रुपमा देखिने र गाँठी कुरा, अनि कसरी त्यस्ता भीडन्त र ग्याङ फाइट रोकिए ! त भन्ने जिज्ञासा, प्रश्न र कौतुहलता राखियो । त्यसमा महत्वपूर्ण पक्ष किन मधिसे, बनिया र मुसलमान सामेल भएनन् त ! भन्ने सामाजिक मनोविज्ञानका जिज्ञासु रहे । आजको चश्माले विगतलाई पढ्न, बुझ्न र अध्ययन गर्न सकिँदैन । त्यस समयको राजनीतिक अवस्था, प्रतिरोधी चेतना, आर्थिक सम्बन्ध, अभिजात वर्गको भूमिका ननियाली समाज परिर्वतन बुझ्न सकिँदैन । प्रस्तुत लेखमा तीं सबै पाटा–पक्ष केलाउने प्रयत्न गरिनेछ । इतिहासले धेरै पटक ठट्टा गर्ने पनि गर्छ ।

१) जिम्दारहरुको सामन्ती ऐठन अरुलाई नीच देखाएर आफू ठूलो देखिन पर्ने हुन्छ । टुट्न सक्छन्, झुक्न सक्दैनन् । अहंकारको भीडन्तले त्यतिबेला जातीय रूप पनि लिन्थ्यो । त्यसको असर अँझै नेपाली कांग्रेसमा नेपालगञ्जमा नेवार भर्सेज अन्यमा पनि देखा प¥यो ।

२) अन्यत्र पञ्चायतको गाउँफर्क कालको बिगबिगी र आतंक बढ्दै जाँदा प्रायजसो काँग्रेसीहरू पन्चायतसँगै आत्मा समर्पण गरिसक्या थिए । गलिसकेका थिए । संगठनात्मक निष्कृय रहेपनि अढाई वर्षे जेल जीवनपछि कागज नगरी रिहा भएका एकमात्र राजबन्दी कम्युनिष्टका संस्थापक रूप सिह सिजापति भने लेखनदास बनेर बाँकीँ जीवन गुजारे ।

३) टोले भीडन्तको केन्द्र बनेको घरबारी टोलको मुख्य टकराहट हमाल परिवार र श्रेष्ठ परिवारको द्वन्द्धको कारण रह्यो । दुवै समुहका संरक्षकमा रणेन्द्र हमाल र मदन श्रेष्ठ थिए । खेलमा घरबारी टोलको वर्चश्व भएकाले नयाँ खेलाडीहरू गडिहन्पुरुवाका पनि देखिन थालेपछि टसल टोल–टोल बिच अँझ बढ्न थाल्यो । तीं तुजुक र टकराहट अन्यत्र पनि देखिन थाले, तानिए ।

४) राजनीतिक शून्यताले पञ्चायतको जग्जगी बढ्दा खेलकुद या टोले झगडामै तन्नेरीहरू आफ्ना पौरख देखाउँथे । त्यसलाई प्रशासनले प्रत्यक्ष सहयोग र अप्रत्यक्ष प्रेरणा दिन्थ्यो ।

५) रैथाने र बाहिरियामा अत्यन्तै भेद थियो । त्यसैले क्याम्पस, शिक्षा क्याम्पस र महिला छात्रवास गुण्डाहरूको निसानामा थिए । अँझ शिक्षा क्याम्पसमा कम्युनिषटहरू ज्यादा भएकाले ने.बि. संघले आक्रमण गथ्र्यो ।

६) स्थानीय मधिसे, मुसलमान र बनियाहरु टोले झगडामा सामेल हुँदैनथे । व्यापार र धार्मिक भूमिकामै रुमलिन्थे । बरु झगडिया तन्नेरीका अधिकांश युवाहरू रुपैडिया, बहराइच पढ्ने हुँदा पहाडी कस्तुरी बिना चरेस वा अन्य अवैध सामाग्रीका करियर पनि बनाउँथे । अन्धराष्ट्रवादको बिगबिगती बढ्दा पहाडियाभन्दा आफूलाई दोयम दर्जाका नेपाली सोच्थे । टोले झगडालाई पहाडियाहरू बीचको आपसी अहंकारी टकराहट भनेर त्यसबाट अलग राख्थे, जोगिन्थे ।

७) साम्प्रदायिक तनाव त थियो नै । हिन्दु र मुसलमानहरू बीच कहिलेकाहीँ झडप पनि हुन्थ्यो । तर, त्यस्ता झगडामा भने टोले झगडालु सामेल हुँदैनथे । पहाडिया हिन्दु सामेल हुँदैनथे, सरोकार राख्दैनथे । अन्धराष्ट्रवादको कारण उर्दू साहित्यमा ‘राष्ट्रवाद’ र राजाका प्रसिद्धीमा सायरी रचना हुन थाल्यो । अञ्चलाधीशको पटाङ्गिनीमा मात्रै हैन काठमाण्डुका राज्याभिषेक लगायत अन्य कार्यक्रममा पनि सायर सामेल हुन थाले ।

८) हाट गर्न आएका हटारुहरुलाई आ–आफ्नै साहुजीले बस्ने व्यवस्था गरेका हुन्थे । बाँकी सल्यानी बंगला वा दैलेखी बङ्गलामा बस्थे । तर, मुग्लानबाट फर्केकाहरू घरबारी टोलका होटलमा बस्थे । तर हरेक हप्ता जस्तो बागेश्वरी तलाउमा एक न एकको लास तैरिन्थ्यो, सनाखत हुन सक्दैनथे । मृतकहरूको या त धेरै रक्सी खाएर वा पैसा लुटिएर हत्या गरेर लास पोखरीमा फालिएको हुन सक्थ्यो । प्रशासनको अनुसन्धान कमजोर भएकाले आत्महत्या भनिन्थ्यो ।

“आजको चश्माले विगतलाई पढ्न, बुझ्न र अध्ययन गर्न सकिँदैन । त्यस समयको राजनीतिक अवस्था, प्रतिरोधी चेतना, आर्थिक सम्बन्ध, अभिजात वर्गको भूमिका ननियाली समाज परिर्वतन बुझ्न सकिँदैन । प्रस्तुत लेखमा तीं सबै पाटा–पक्ष केलाउने प्रयत्न गरिनेछ । इतिहासले धेरै पटक ठट्टा गर्ने पनि गर्छ ।”

 

कसरी टोले झगडा मत्थर मात्रै हैन, निर्मूल पनि भए त ?

१) ३० को दशकको सुरुदेखि पञ्चायत जग्जगी घट्दै गयो । क्रमशः व्यवस्था विरोधीहरूको हस्तक्षेप बढ्दै गए । मण्डलेहरूलाइ प्रशासनले संरक्षण गथ्र्यो । प्रशासनलाई दवाव पर्दै गयो । महिला छात्रवासमा आक्रमणपछि भने प्रशासन ब्युँझियो । शान्ति सुरक्षा ऐन सक्रिय गराएर झगडाको नेतृत्व गर्ने योगेन्द्र सापकोटा वारेन्टेड भएपछि भारत पलायन भए । केही समयपछि नेपालगञ्जमा हल्ला आइपुग्यो– लखनउ पलायन भएका सापकोटा त्यहाँपनि चरित्र फेर्न सकेनन् । निरन्तर ग्याङ फाइट स्वभाव भएका नेपालगञ्जका टोले भीडन्तका अगुवा सापकोटाको लखनउ भीडन्तमा मृत्यु भएर गोमती नदीमा लास फ्याँकियो ।’ त्यसैबेला हुलिया नखुलेको एउटा लास भेटिएको लखनउका मिडियाले भने । परिवारले खोज–तलास गर्दा कतै फेला परेनन् । गुमनाम योगेन्द्रको अवस्था झण्डै ४५ वर्ष देखि अज्ञात छ । त्यसले टोले भीडन्तमा मनोवैज्ञानिक असर परेर टक्राहट कम हुँन सुरु ग¥यो ।

२) तुजुग देखाउने थलो टोले झगडा मात्रै नभएर सक्रियता देखाउने थलो खेलकुद र राजनीति बन्न थालेपछि हिँजोका झगाडालुहरुको उद्देश्य र मञ्च फेरिदै गए ।

३) बाँकेमा पुनर्वाससँगै चेतना पुग्दा त्यसले बजारको सोंचमा प्रभाव र हस्तक्षेप गर्न थाल्यो । २००७ सालमा क्रान्तिकारी केन्द्र बनेको नेपालगञ्ज ०२७ पछाडी खजुरा क्षेत्र बन्यो । नयाँ र पुराना बाँकेमा चेतनाका केन्द्र पनि फेरिए । खजुरा क्षेत्रमा नयाँ सोचका जीवन संर्घष गरेका मान्छे थिए । एयरपोर्टले देशलाई मात्रै जोडेन मात्रै, चेतना भित्राउने थलो पनि बन्यो । सेतो सुन फलाउने कपास खेती, अंगुर खेती, कृषीमा आधुनिकरणको प्रयोगशाला कृषी केन्द्र कुखुराका आधुनिक फार्म, राधेपुर कृषी फारमको उत्पादनमा सहभागिताले लफंगा झगडालु स्वभावमा असर पु¥यायो ।

४) पुरानो बाँकेले साेंच फेर्न नसक्दा अथवा पञ्चायतको बिगबिगती झेल्न नसक्दा जनमत संग्र्रहमा निर्दलले जित्यो । तर पनि धेरैजसो टोले भीडन्तमा सामेल युवाहरू क्रमशः राजनीतिकरण हुँदैनथ्यो । घरबारी टोलको परिचय पनि प्रजातन्त्रवादी, खेलाडी र कलाकारको केन्द्रमा फेरिँदथ्यो ।

५) पूर्वपश्चिम राजमार्ग खुल्नु संगै कोहलपुर नयाँ सहरको रुपमा विकास गर्ने पूर्वाधार तयार गर्दै थियो । भालुबाङमा बनेको राप्ती पुलले पूर्वेली व्यापारीहरूको थप आगमन हुँदै गए । झापा लगायत पूर्वका मारवाडी व्यापारी मात्र हैनन् अन्यत्रका पहाडीमूलका व्यापारीहरूले पनि सनातनी व्यापार, बजार र उद्योगलाई नयाँ परिचय दिँदैथिए । सामाजिक हस्तक्षेप बढ्दै जाँदा सामाजिक सोंच र चेतनामा बद्लाउ हुन थाल्यो ।

६) महेन्द्र बहुमुखी क्याम्पसका फ्याकल्टी बढ्दै जाँदा र स्कूलहरूमा पनि नेपाली इतिहास, भूगोल, भाषा र साहित्यको पढाइले नव युवाहरूमा नयाँ सोंच पलाउँदा नव युवाहरू टोले भीडन्तमा सामेल हुन छोडे ।

७) बर्दिया फैलिएका राजनीतिक चेतना, टुक्रिएका जमिनको समित्व, बोल्ने औजार भनिएका कमैयाको विद्रोही चेतले नेपालगञ्जमा बस्ने जिम्दारका तुजुकमा असर पर्दा धनाढ्यहरुको जुंगाको लडाईलाई पनि असर पार्दै गयो । बसाई सरेर आउनेले समाजको हरेक क्षेत्रमा हस्तक्षेप र प्रभावले राजा–साहेव, बाबु, बाबु–साहव, साहुजीका दम्भ तोडिँदै जाँदा युवालाई गुण्डा हतियार बनाएर अहंकार साधना गर्नेहरुले मानव संसाधन पाउन छोड्दै गए ।

८) युवाहरुले आफ्ना योग्यता क्षमता, दक्षता प्रदर्शन गर्ने टोले भीडन्त नभई राजनीति, खेलकुद, कला, संगित, नोकरी, उच्चशिक्षा र व्यापारतर्फ ध्यान खिच्दै गयो ।

९) समाज र सोंच फेरिने जे, जे मानक हुन्थे, पुरानो नेपालगञ्जमा प्रवेश गर्दैजाँदा नयाँ नेपालगन्ज बन्दै गयो । खानपान, पहिरन, बजार मनोविज्ञान र चेत फेरिँदै गए ।

१०) राणा शासन विरोधी २००७ सालको क्रान्तिको पश्चिमी केन्द्र नेपालगंजमा राजनीतिमा भने सामाजिक चंचलपन देखिँदै गए । मोहम्मद मोहसिन अंचलाधिसले मुसलमान मतलाई केन्द्रिकृत गरेर भन्ने अन्यलाई त्रसित पारेर जनमत संग्रहमा पञ्चायतलाई जिताए । बाँकेमा ०४५/०४६ को आन्दोलन धेरै पछि पुग्यो । ०४८ को आम चुनावमा ३ वटै सिटमा नेपाली कांग्रेसलाई जिताएपनि अर्को चुनावमा ३ नै सिट पूर्वपञ्चको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जितायो । ०६२/०६३ पछि आन्दोलनका उपज फोरम र माओवादीलाई जिताएको बाँकेले दोस्रो पटक भने कांगे्रसका सुशील कोइराला र ३ सिटमा एमालेलाई जिताएर माओवादी र जसपालाइ हरायो । फेरी ०७४ को अर्को चुनावमा भने माओवादी, जसपा र एमालेलाई एक–एक सिट दियो । चन्चल बाँकेमा हिँजोका टोले भीडन्तकारी राजनीतिकरण भैसक्या थिए, छन् ।

११) राजनीतिक र सामाजिक शक्तिको फेरवदलसंग सामाजिक एक्टर पनि फेरिँदै जान्छन् । सत्तासंग भूमिका पनि बदलिँदै जान्छ । हिँजोका खलनायक असल मान्छेमा फेरिनु र नायकहरुले गरिमा धान्न नसकेर खलनायकमा फेरिनु स्वभाविक प्रकृया हो । नेपालगञ्जका टोले भीडन्त र गुण्डा, असमाजिक तत्व पनि फेरिनु स्वभाविक हुन्थो र भयो ।

Next Post

माओबादीले गरेका २ सय ३३ उपलब्धी

२०७९ आश्विन १२, बुधबार १९:३८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकद्वारा निर्देशित नेपालका सर्वहारा/श्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । १० वर्ष लामो महान् जनयुद्ध र विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग, पेशा र समुदायका न्यायपूर्ण आवाजहरूको प्रत्यक्ष नेतृत्व गरेको यस पार्टी नेपालका मजदुर, किसान, सुकुम्बासी, बुद्धिजीवी, पेशाकर्मी, महिला, दलित, मधेशी, मुस्लिम लगायत सम्पूर्ण उत्पीडित […]