भदौं ३० पछि अब दर्ता नभएका मोबाइल फोन नचल्ने

  ।   २०७९ भाद्र ३०, बिहीबार १५:१४

संवाददाता ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । आजदेखि यो प्रणाली लागू गरिएसँगै अब दर्ता नभएका मोबाइल फोन नेपालमा सञ्चालन हुन पाउने छैनन् ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्न यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ । यो प्रणाली लागू भएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने बनाइनेछ ।

यो प्रणाली कार्यान्वयनमा गएसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरू दर्ता गर्नु पर्नेछ । दर्ता नभएका मोबाइल फोनमा सिमकार्डले काम गर्ने छैनन् ।

यद्यपि, २०७९ भदौ ३० गतेसम्म सञ्चालनमा आएका मोबाइल फोन भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार‚ भदौ ३० पछि भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने छ ।

विदेशबाट आफन्तले पठाइदिएको मोबाइल फोन पनि प्राधिकरणको प्रणालीमा गएर आईएमईआई नम्बर दर्ता गरेपछि मात्रै सञ्चालन हुने प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेले बताउनुभयो ।

प्राधिकरणले मोबाइल खरीद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरीद गर्न सूचना जारी गरेको छ । मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई प्रणालीमा दर्ता भएका मोबाइल मात्रै बिक्री गर्न निर्देशन दिएको छ ।

नेपालमा मोबाइल बिक्रेताहरूले लामो समयदेखि यो प्रणाली सञ्चालनमा ल्याउन माग गर्दै आएका थिए । भन्सार नतिरी भित्रिएका मोबाइल फोनका कारण आफूहरूको बजार खोसिएको उनीहरूले दाबी गर्दै आएका थिए ।

हिमाल खबर डटकमबाट

Next Post

एनसीईमा युनेस्को क्लबका साजिद सिद्दिकी र बालमैत्री स्थानीय शासनमा अन्सारी निर्वाचित

२०७९ भाद्र ३०, बिहीबार १५:१४
नेपालगञ्ज । काठमाण्डौमा सम्पन्न भएको शिक्षाका लागि राष्टिय अभियान एनसीई नेपालको केन्द्रिय सदस्यमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी निर्वाचित हुनु भएको छ ।राजेन्द्र पहाडीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका निर्देशक सिद्दिकी केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो । यसअघि सोही पदमा बाँके युनेस्को क्लबको प्रतिनिधित्व […]