आईना–ए–नेपालगन्ज–३

  ।   २०७९ भाद्र २२, बुधबार २१:१५


नरेन्द्रजंङ पिटर
पहिलो दृष्टिमै नेपालगन्ज अनौठो लाग्यो । लडियाका ताँती, टमटम घोडाका टाप, मण्ठका लस्कर, मान्छे बेचिन तँछाड्मछाड्को त्रिभुवन चोक, साँगुरो एकलैनी बजार । फेरीवालाको चिच्याहट । शंख, घण्ट, अजान, गुरुवाणी र रुपेडिया जाने टाँगाका खटखटाहटले गुडमर्निङ् ।
पहिरन्नै पहिचान । टुप्पी र दाह्रीले मान्छे छुट्टिने । गलामा पँहेला, राता, सेता, हरिया गम्छाले टाढाबाटै आस्थाको चिनारी । पुरुषको धोती, लुङ्गी, सेरवानी, दौरा सुरुवाल, टोपी, महिलाको घुंघट र बुर्का, सारी, चोली र फरिया पहिरन्ले बहुजातीय, बहुधार्मिकता झल्कने । छत्मा फर्फराइरहेका पहेँला, राता र हरिया ध्वजा आस्था नारा घन्काइरहेका । हरेक कुराले जिज्ञासा बढ्दै गएर पुराना विश्वास भत्किँदै नयाँ बन्दै गए । सोच फराकिला हुँदै गए । एकै ठाउँमा हिन्दू, मुसलमान, थारू, मधेसी, पहाडिया, आदिवासी, जनजाति कसरी आफ्ना मान्यता, विश्वास र सर्तमा हार्दिकतामा रमाउन सक्छन् ? यस्तो सद्भावको मनोविज्ञान के हो ?
विस्मृतिका गर्भमा चिच्याहट

चस्मा अनुसार समाज देखिन्छ । एउटा जिज्ञासाको उत्तर थाहा पाउने बित्तिकै अर्को थपिन्छ । नेपालगन्जको आँगनमा बसेर चौतर्फी दृष्टि डुलाउँदा अनेकौँ कुरा देखिन थाले । महान् कर्णाली सभ्यता र अवध संकृतिको संगम् । महाविचरणकालमा पुर्खाहरूको आश्रय थलो– दनुवा ताल । थारू सभ्यताको केन्द्र । फैलिँदै, खुम्चिदै, फेरि फैलिँदै र अतिक्रमित हुँदै गएको राजनीतिक भूगोल । लिखत इतिहासका पहिलो सहिद बाँकावीर(अछाम), महिला सहिद कोइली देवी थरुनी (राजापुर,बर्दिया), किसान संघर्ष, सहिद भीमदत्त पन्त (डडेलधुरा) र कामी बुढा (रूकुम)। ओहो ! विस्मृतिका गर्भमा चिच्याइरहेका विषय उत्खनन् गर्न पर्ने कति हो कति !
थाहा नपाइन्जेल प्रत्यक विषय नयाँ लाग्छन् । समय घर्कदैजाँदा अध्ययन् र अभ्यस्तताले विशेष सामान्य फेरिँदै जान्छ । अध्ययन केन्द्र निेपालगन्जिया समाज रह्यो । वशेषगरी २००७ का भेट्रान तीन देशमा फासी सजाय सुनाइएका दिलमान सिंह थापा, डोनास गाङदान, श्याम तामाङ तीनैजना जनमुक्ति सेनाका संस्थापक । अझ दशरथ चन्द आश्रमका कार्यालय इन्र्चाज गणेश कर्माचार्यसँग त सन्दर्भ सामाग्रीको खाँनी नै थियो । पश्चिम नेपालका क्रान्तिकारी बाबुकृष्ण शर्मा, कुवर कल्लु सिंह, कमाण्डर रूपसिंह सिजापती, गोपाल कर्माचार्य, जनक कर्माचार्य, गणेश कर्माचार्य, गोपालबहादुर श्रेष्ठ, शेखर शर्मा, बदलुराम नेपाली, रामकृष्ण मानन्धर, मुलायम वेहना, घगडान आश्रम, दशरथचन्द आश्रम (रुपैडिया) अब ती सबै इतिहासका पानामा ।


पश्चिमको आधुनिक इतिहासलाई न्याय गरिएको छैन । नारायणी नदी पूर्वका राजनीतिक कमिसार बिपी कोइरालालाई मात्र केन्द्र बनाइयो । क्रान्तिका सुप्रिम कमान्डर (डिक्टेटर) मात्रिकाप्रसाद कोइराला, पश्चिमी कमिसार महेन्द्रविक्रम शाह र सैन्य कमान्डर ठाकुर पुरण सिंह खवासको खासै उल्लेख भएन । प्रजातान्त्रिक कांग्रेसको नेतृत्वमा पश्चिमको आन्दोलन सशक्त र सशस्त्र रह्यो ।

त्यतिवेला साहित्यकार नयनराज पाण्डेको बसाइँ नेपालगन्ज नै थियो । शारदा कालीन साहित्यकार इन्द्रमण्ीा मानव, कथाकार नन्दराम लम्साल, गायक/गीतकार प्रेमप्रकाश मल्ल, कथाकार सनत रेग्मी, महेन्द्र शाहीसँग सम्पर्क, हार्दिकता भइसकेको थियो । वी. विकास र आरिफ माडसावसँग भेट हुन पाएन । सानातिना साहित्यिक कार्यक्रम गथ्र्यौं । भेरी साहित्यिक संस्थाको अगुवाइमा पहिला भव्य साहित्यिक कार्यक्रम हुन्थे नै । स्थापित साहित्यकार मानव, लम्साल र रेग्मी बीच सिर्जना कालको (सिर्जना साहित्यिक पत्रिकाको सम्पादन/प्रकाशन) हार्दिकता थिएन ।

उर्दूको मुसायराले (कवि गोष्ठी) नेपालगन्जमा विशेष महत्व राख्छ । पञ्चायत कालमा सरकारद्वारा सायरहरूलाई (कवि) काठमाण्डू लाने चलन् थियो । उर्दू साहित्यमा गजल विधा नै प्रमुख भए पनि ती साहित्यिक भन्दा धार्मिक (नाद) ज्यादा हुन्थे । अधिकांश सायरका वाचनमा हिन्दुस्तानी वा पाकिस्तानी सायरका कपी झल्कन्थे । पञ्चायत कालमा ‘राष्ट्रभक्तिका’ सायरी तरुन्नुम (लयात्मक) हुन्थे । बज्म–ए–अदव अदव आपसमा विभाजित गुल्जारे अदव र बज्मे अदव थियो । मोहमद युनुस, अब्दुल लतिफ सौक र मोहम्मद अमिन ख्याली पछिल्ला कालका अगुवा भए । अव त युनुस, ख्याली पनि बितिसके । पछिल्लो ठूलो मुसायरा मुरलीको सम्झनामा भएको थियो । प्रकाश राजापुरीको सञ्चालन, पारस भ्रमर र प्रेमप्रकाश मल्लको उपस्थितिले उर्दू, हिन्दी, नेपाली र अवधिको संगम बनायो । त्यो मुसायराको छाप ज्यादै पर्‍यो ।
नेपाल बहु भाषिक, बहु सांस्कृतिक, बहु धार्मिक देश हो । नेपाली शब्द माथिको एकाधिकार खस भाषीहरूको मात्रै हुँनु हुँदैनथ्यो । अन्य भाषा, क्षेत्र, संस्कृतिले पनि आत्मसात् गराउन सक्नुपर्छ, तब मात्र आन्तरिक र बाह्य राष्ट्रियता मजबुत गराउन सकिन्छ भन्ने आत्माले स्विकार्‍यो । त्यसले बहु भाषिक साहित्यिक गोष्टीको परिकल्पना गरायो । जहाँ मानवबस्ती छ, त्यहाँ मौलिक भाषा, संस्कृति र साहित्य हुन्छ । ती लिखित/अलिखित दुवै हुन सक्छन् । हरेक आमाले सन्तान सुताउँदाका लोहरी गीत वा पुर्खाका कथा सन्तानलाई सुनाएका हुन्छन् । ती श्रुति साहित्य बनेर पुस्तान्तरण भइरहेको हुन्छ ।

साहित्यको गम्भीर पाठक र राजनीतिमा सक्रिय रहेकाले पुस्तकालय नियमित जान्थेँ । साहित्य र अध्ययन केन्द्र महेन्द्र पुस्तकालयको (प्रेम पुस्तकालय) व्यवस्थापनमा सीमा, समस्या र आग्रह थिए । नयाँ पहाडिया, कम्युनिष्ट र मुस्लिमलाई त्यहाँ अघोषित प्रतिबन्ध नै थियो । मित्र राजेन्द्रको पहलमा पुस्तकालय कार्यकारिणीमा प्रवेश मिल्यो ।

दिमागमा काउसो सल्केपछि ज्ञानी, विद्वान् र शिक्षितसँग नजिकिन मन लाग्छ । हरेक मान्छेसँग अद्भूत ज्ञान रहेकाले ऊ अरूलाई दीक्षा दिन सक्छ । आग्रहबाट लतारिएनौ र नायकको आभाबाट पनि मुुक्त भयौँ भने संकीर्णताबाट जोगिन सकिन्छ । जिज्ञासाले नित्य नयाँ बन्न हौस्याउँछ । तब आफ्नै ज्ञान र सूचनालाई पनि नयाँ सन्दर्भमा फेरि जाँच–पड्ताल गर्न थालिदो रहेछ । नेपालगन्ज स्वयं एउटा महाकाव्य र एन्थ्रोपोलोजीको विश्व विद्यालय हो ।
केही तथ्यमा नेपालगञ्ज

– कम्युनिष्ट पार्टीको पहिलो सचिव रूप सिंह सिजापति हुन । पश्चिम नेपालमा २००८ मा गठनभएको पहिलो शाखा हो । सिह २०१५ को संसदिय क्षेत्रन ६३ ंवाट उम्मेदवार बनेर ७ सय ६ मत प्राप्त गरेका थिए भने बिजेता नेपाली कंग्रेसका ललितचन्दले ७ हजार २ सय २३ मत प्राप्त गरेका थिए ।
– नेपालगञ्जका कुवँर कल्लु सिह कलकत्तामा भएको नेपाली काँग्रेसको सयुक्त पहिलो महाधिवेशनले(२००६ चैत्र २७, २८ र २९) निर्वाचित केन्द्रिय सदस्य । तर उनलाई जनकपुरमा सम्पन्न (२००९जेठ १०, ११, १२)सम्मेलनमा पश्चिम नेपालको किसान संघषको वकालत गरेको र पार्टी सहभागी हुँनुपर्छ भनेकोमा कम्युनिष्ट भन्दै हलबाट निस्कासन गरेर गिरप्mतार् गरियो ।

– राष्ट्रिय कंग्रेसको पहिलो नेतृत्व योगेश्वर मिश्र । उनले २०१५ सालको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर १ हजार १ सय ४९ मत पाए ।
– पहिलो पत्रकार सर्वज्ञमान श्रेष्ठ । उनी पोष्टमाष्टरका साथै पत्रकारितामा पनि जिम्मेवारी थियो । हुलाकमा कलकत्ताबाट आएको धनेश्वर शर्माको पार्सल एकदिन खुलेपछि क्रान्तिकारी साहित्य भेटेपछि शर्मासंग नजिक गरायो ।

– धनेश्वर शर्माको नाममा सक्रिय बाबुकृष्ण शर्माकै नेतृत्वमा पश्चिमको प्रजातान्त्रिक काँग्रेसले सक्रियता पायो । सङ्गठनमा गरम दल र नरम दल हुन्थे । उनको गोप्य थलो गगनगंजमा हाल बिँडी फ्याक्ट्रीको पुरानो घर हो । पछि सिवी सिंह,राजेश्वरीप्रसाद उपाध्यायहरुको पनि कार्यक्षेत्र बन्यो ।

– नेपालगञ्जमा सरकारी नजर र दबाब बढेपछि रूपैडियामा अशर्फीलाल भुजुवाको घरमा दशरथचन्द आश्रम खुल्यो । त्यसका शाँखा पूर्वमा मझगाँउ र पश्चिममा कतरनियाघाट थियो । आन्दोलनकारी किसान र क्रान्तिकारी बीचको मिलन आश्रममा हुन्थ्यो । त्यहाँ नेहरू, गान्धी, लोहिया, राहुल सांकृत्यायन, मार्क्स, लेनिनका पुस्तक पढिन्थे । हरेक बिहानी झण्डाको परेड सलामी दिइन्थ्यो भनेर कार्यालय इन्चार्ज गणेश कर्माचार्यले भनेका हुन । आश्रमको झण्डा परेड सलामी गितमा:
ए माँ मुझ को दे बरदान्,
समझ सके हम उन् के चाले
लें उन्को पहिचान
जिन्हो ने हम को दिन बनाकर
बढाए अपने सान

– नेपाली कंग्रेसको पहिलो सभापति सर्वज्ञमान श्रेष्ठ वा गोपालबहादुर श्रेष्ठ भनेर अझै निक्र्यौल काँग्रेसले गर्न नसकेपनि मेरो अध्ययनले कुवंर कल्लु सिह हुँन भन्छ ।
– काँग्रेसको पहिलो संगठनमा कुवर कल्लु सिंह, धनेश्वर शर्मा, गोपालबहादुर कर्माचार्य, खड्गबहादुर सिंह, भगवति कुर्मी, गोपालबहादुर श्रेष्ठ, जलालुद्दिन अन्सारी रहेका थिए । क्रमश:…………………

 

Next Post

कर्मचारी संगठनको १८ औं वार्षिकोत्सबको उपलक्ष्यमा नील सागरमा खाद्यान्न वितरण तथा स्वास्थ्य परिक्षण

२०७९ भाद्र २२, बुधबार २१:१५
नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको १८ औं वार्षिकोत्सबको उपलक्ष्यमा कोहलपुरमा रहेको नील सागर असाहाय , अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा फलफूल, खाद्यान्न तथा स्वास्थ्य चेकजाँच गरेको छ । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन वि- स- २०६१ सालमा स्थापना गरिएको थियोे । उक्त संस्थामा […]