यस वर्ष नेपालमा एक साताअघि नै मनसुन सुरु हुने

  ।   २०७९ जेष्ठ ५, बिहीबार १४:१४

संवाददाता ।

यस वर्ष सामान्यभन्दा एक साताअघि नै मनसुन सुरु हुने र नेपालका विभिन्न भूभागमा औसतभन्दा बढी वर्षा हुने मौसमविद्हरूले बताएका छन । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्छ ।

भारतको मौसम पूर्वानुमान शाखाले जुन १ मा केरलाबाट मनसुन सुरु हुने जनाएको छ । नेपालमा पनि मनसुन प्रभावित हुनसक्ने अनुमान गरिएको मौसम पूर्वानुमानको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभएको छ ।

“तर अहिले नै यही दिनबाट मनसुन सुरु हुन्छ भन्ने कुरा तय गर्ने समय भएको छैन,“ उहाँले भन्नुभयो । “नेपाली मौसमविद्हरूले गरेको आकलनमा भने जुन १० देखि १३ को आसपासमा मनसुन सुरु हुने देखिएको छ ।

“प्रत्येक वर्ष साउथ एशियन क्लाइमेट आउटलुक फोरममार्फत् दक्षिण एशियाली मौसमविद्हरू मनसुनबारे संम्भावित जानकारीहरू निकाल्छन । त्यसैलाई आधार बनाएर नेपालको पनि मौसम पूर्वानुमान गरिन्छ ।

यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने विज्ञहरूको पूर्वानुमान छ । मौसमविद् पौडेलले मधेश प्रदेश र बागमती प्रदेशको दक्षिणी भेगमा औसत पानी परे पनि बाँकी भूभागमा औसतभन्दा बढी वर्षा हुने ठानिएको बताउनुभयो ।

नेपालमा मनसुन जुन १३ बाट प्रवेश गरेर अक्टोबर २ मा बाहिरिने गर्छ । यस अवधिमा औसत १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटर वर्षा हुने गरेको पौडेलले बताउनुभयो । त्योभन्दा १० प्रतिशत बढी वा घटी वर्षा हुनुलाई औसत नै मानिन्छ ।

ठाउँअनुसार औसत वर्षाको मात्रा फरक फरक हुन्छ । सम्बन्धित ठाउँको ३० देखि ४० वर्षको तथ्याङ्कको आधारमा त्यहाँको औसत वर्षाको गणना गरिन्छ ।

उक्त स्थानमा पर्ने पानीको तुलनामा ११० प्रतिशतभन्दा धेरै वर्षा भयो भने त्यसलाई औसतभन्दा बढी मानिने विज्ञहरू बताउँछन् । नेपालको विभिन्न भूभागमा अहिले पनि पानी परिरहेको छ।

तर सामान्य वर्षा र मनसुनबीच भिन्नता हुने मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

बीबीसी नेपालीबाट

Next Post

श्रमिकले पाउनु पर्ने क्षतिपूर्तिका लागि फिफाले ४४ करोड रूपैयाँ बराबर रकम छुट्टाउन पर्ने एम्नेस्टीको भनाई

२०७९ जेष्ठ ५, बिहीबार १४:१४
संवाददाता । एम्नेस्टी इन्टरनेसनलले विश्वकपको तयारीका क्रममा कतारमा मानवअधिकार दुब्र्यवहार भोगेका श्रमिकले पाउनु पर्ने क्षतिपूर्तिका लागि फिफाले विश्वकप पुरस्कारका लागि छुट्टाएको ४४ करोड रूपैयाँ बराबर रकम छुट्टाउन पर्ने बताएको छ । विश्वकप प्रतियोगिता सुरु हुनुभन्दा ६ महिना अघि आज सार्वजनिक गरेको एक प्रतिवेदनमार्फत एम्नेस्टी इन्टरनेसनलले यस्तो बताएको हो । प्रतिवेदनसँगै […]