बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ५ डलैपुरमा रहेको जैतुन ए.जी. चर्चको नवनिर्मित भवनको उद्घाटन गाँउपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले एक कार्यक्रमका बिच गर्नु भएको छ ।
डुडुवा गाँउपालिकाको २० लाख, गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरीको ५१ हजार, ए.जी. एन लुम्बिनी प्रदेशबाट ६५ हजार, जैतुन ए.जी. चर्च परिवारबाट ७ लाख ९४ हजार ४ सय १४ रुपिया र जन श्रमदानबाट १ लाख ७ हजार ९ सय ४ रुपिया गरी जम्मा ३० लाख १८ हजार ३ सय १८ रुपियामा बनेकोे सो चर्चको गाँपालिका अध्यक्ष चौधरीले उदघाटन गर्नुभएको हो । डुडुवा गाँउपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा भएको चर्च उद्घाटन कार्यक्रममा वोल्दै चौधरीले धर्मको सार भनेको पाप नगर्नु भन्ने भएकालेे आफ्नो तर्फवाट सबै धर्महरु समान रहेको वताउनु भयो ।
कुनै पनि धर्म सानो ठुलो उचो निचो नहुने बताउदै उहाँले कुन धर्म मान्ने भन्ने कुरा व्यक्तिको अधिकार भएकाले कसैले धर्म मानेकै आधारमा कसैलाई विभेद गर्न नहुने बताउनु भयो ।हिन्दु , क्रिश्चीयन , मुस्लिम , लगायतका धर्म मान्ने मान्छे डुडुवामा मिलेर बसोबास गरिरहेको र यहाँको मानिसहरु मिलेर बसिरहेको भन्दै सवैलाई डुडुवामा बस्ने विभिन्न धर्मावलम्वीहरुबाट पाठ सिक्न जरुरी रहेको बताउनु भयो । हिन्दुको घरम धार्मिक कार्यक्रम हुँदा क्रिश्चीयन पूग्ने , क्रिश्चियनको घरमा धार्मिक कार्यक्रम हुँदा हिन्दु पूग्ने परम्परा रहेको र यो संस्कारलाई अझ विस्तृत बनाएर जान जरुरी रहेको जिकिर गर्नु भएको थियो ।गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरीले ख्रीष्टियन समुदायमा अति नै संवेदनशिल विषय अन्त्यष्टि संस्कारको निम्ति गाँउपालिका भित्र नै समाधिस्थलको व्यवस्था गर्न आफूले पहल गर्ने बताउनु भएको थियो । उहाँले गाँउपालिका भित्र रहेको सबै धार्मिक आस्थाको पहिचानलाई स्थापित गर्नका लागि सामाजिक सेवा कार्यमा सहकार्य गर्ने, व्यक्तिगत रुपमा सधै आर्थिक सहायता उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।चर्चका पास्टर लिले बरालको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष चौधरीलाई फूलमाला र नेपाली टोपी लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रमलाई समापन गर्दै पास्टर बरालले डुडुवा गाँउपालिका अध्यक्ष चौधरीले चर्च निर्माणमा खेल्नु भएको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले चौधरीलाई डुडुवाका ख्रीष्टियन समुदायले सधै साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा ख्रीष्टियन समुदायको बाक्लो उपस्थिती रहेको थियो ।