सहिद सप्ताह सुरु

  ।   २०७८ माघ १०, सोमबार १३:२२

संवाददाता ।

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।

सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ ।

काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

शुक्रराजको जन्म विसं १९५० मा भारतको बनारसमा भएको हो ।

भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो ।

त्यस क्रममा उहाँले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपालीभाषीबीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसक्नुभएको थियो ।

त्यसपछि नेपाल फर्किनुभएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले विसं १९९४ मा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो ।

धार्मिक गतिविधिबाट जहानियाँ शासन विरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा विसं १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गर्नुभएको थियो ।

राणाको विरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो ।

विसं १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।

यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरिबोटमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरिसकेको छ ।

यस वर्ष सहिद सप्ताहका अन्य कार्यक्रम माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइने कार्यक्रम रहेको छ ।

थाहा खबरबाट

Next Post

११५६ नम्बरमा फोन गरी कोभिड स्वास्थ्य परामर्श लिन सकिने

२०७८ माघ १०, सोमबार १३:२२
संवाददाता, नेपालगंज। नेपाल चिकित्सक संघले कोभिड–१९ को तेस्रो लहरबाट प्रभावितहरुलाई आवाश्यक परामर्श दिने उद्देश्यका साथ भोली माघ ११ गतेदेखी ११५६ नम्बरको कल सेन्टर संञ्चालनमा ल्याउन थालेको छ । नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा शुरु गर्न लागीएको कल सेन्टर बिहान ८ बजेदेखी राती ८ […]

सम्बन्धित समाचार