संवाददाता, नेपालगन्ज ।
‘साडी, कुर्ता किन्न आउनेहरु रेडिमेड सामान पनि किन्थे । नेपालगन्जमा दशैंको बजार पनि सुनसान छ’, नेपालगन्जको सदरलाइनस्थित भरत रेडिमेड शिवम् गुप्ता भन्दै हुनुहुन्थ्यो, ‘दशैंका मुखैमा आएर जमुनाहा सीमा नाका खोल्दा भारतीय बजार चम्केको छ ।
५ किलो चिनी किन्न जानेले ५ हजार रुपैयाँको सपिङ गरेर फर्किरहेका छन् ।’ १७ असोजमा जिल्ला प्रशासन कार्यालय बाँकेले सीमा नाका जमुनाहामा सवारी साधनसमेत जान पाउने गरी खुला गरेपछि दशैंमा रुपैडियाको व्यापार चम्केको छ ।
अहिले त्यहाँ जानेको ओइरो लागिरहेको छ । नेपालगन्जमा दशैंका लागि साडी, कुर्ता सुरुवाल, सर्टपाइन्ट जस्ता कपडा किन्नेहरु भारततिर गइरहेका छन् । खाद्यान्न किन्नेहरुको पनि ओइरो नै छ । भाट भटेनी सुपरमार्केटले गरेको अध्ययनमा रुपैडियामा तरकारी, खाद्यान्न, लुत्तालत्ता गरी १४ प्रकारका सामान किन्न नेपालीहरु जाने गरेका छन् ।
नेपालगन्जको नर्सिङ होम नजिक किराना पसल सञ्चालन गर्नुभएका टोपबहादुर थापा भन्नुहुन्छ्, ‘एक लम्बर (५ किलो) चिनी र एक लम्बर आलु किन्ने भनेर जान्छन् । चामलको बोरा पनि बोकेर फर्कन्छन् । नेपालगन्जमा दशैंको बेलामा खाद्यान्नको व्यापार चौपट भएको छ ।’
दशैंका लागि भारतबाट चामल किनेर ल्याउनेलाई २ बोरासम्म छुट दिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सइ मीनबहादुर विष्ट बताउँनुहुन्छ । ‘चाडपर्वको बेला हो । एक जनालाई ५ किलो चिनी र २ बोरासम्म चामल ल्याउन छुट दिएका छौं’, उहाँले प्रष्ट पार्नुभयोे, ‘चाडपर्वको बेलामा घरयासी सामान ल्याउनेहरुलाई कडाइ गरिएको छैन । क्यारिङ गर्नेहरुलाई भने छुट दिइएको छैन ।’
जमुनाहा नाका हुँदै रुपैडियामा किनमेल गर्न जानेहरु दैनिक कम्तीमा पनि पाँच, सात हजार रहने गरेको इप्रका जमुनाहाले जनाएको छ ।
प्रहरीले यस्तो दाबी गरे पनि नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली दशैंका नाममा सीमा नाकालाई छाडा छोड्दा नेपालगन्जका व्यापारी निकै मारमा परेको बताउँनुहुन्छ् । उहाँले गुनासो गर्नुभयोे, ‘जति पनि ल्याउन दिएको छ । क्यारिङ पनि उस्तै छ । सेटिङ पनि उस्तै भइरहेको छ ।’
सीमा नाका जथाभावी खोल्दा भन्सारको राजस्व असुली समेत प्रभावित भएको उहाँले जिकिर गर्नुभयोे । ‘अघिल्लो वर्ष लक्ष्यको झन्डै २ सय प्रतिशतसम्म बढी राजस्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयलाई यो वर्ष लक्ष्यमै पुग्न पनि हम्मेहम्मे परेको छ’, ओलीले दाबी गर्नुभयोे । यस विषयमा प्रष्ट पार्न नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीलाई आइतबार सम्पर्क गर्दा उहाँको मोबाइल स्वीच अफ थियो ।
सीमा नाका खुलेपछि भने रुपैडियाका व्यापारीहरु निकै खुसी छन् । उद्योग व्यापार संघ रुपैडियाका निवर्तमान महासचिव इजा इमान रिजवी रुपैडियामा सस्तो सामान पाउने भएकाले नेपाली ग्राहकको रोजाइमा पर्ने गरेको बताउँनुहुन्छ्, । ‘काँचो कपडाको थान कति रुपैयाँमा बेच्ने भन्ने कतै लेखिएको हुँदैछ । रुपैडियाभन्दा नेपालमा कम्तीमा दोब्बर र बढीमा तेब्बर मूल्यमा बिक्री हुने गरेको छ’, उहाँले दाबी गर्नुभयोे, ‘चिनी, तरकारी, फलफूल, थान कपडाको मूल्य नेपालभन्दा धेरै फरक पर्छ ।’
कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले १० चैत २०७६ मा देशका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । १७ वैशाख २०७८ मा कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) ले भारतसँगका ३५ नाकामध्ये १३ नाका आंशिक सञ्चालनमा गर्न सिफारिस गरेको थियो ।
सरकारले क्वारेन्टाइनको व्यवस्था गरेर नेपालगन्जको जमुनाहा, काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी खुलाउन सरकारलाई सिफारिस गरेको थियो । झन्डै २ वर्षपछि सीमा नाका आंशिक रुपमा खुले तर सवारी साधन निर्वाध आवत जावतमा रोकतोक नै थियो ।
१७ असोजमा संघीय सरकारको मन्त्रिपरिषद् बैठकले दक्षिणी सबै सीमा नाका खुला गर्ने निर्णय गरेको थियो ।
बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारले नाका खोल्ने निर्णय गरे पनि भारतीय सहमति बिना नेपाल सरकारले मात्रै नाका खोल्ने निर्णय गर्दैमा त्यो कार्यान्वयनमा आउन समस्या भएको प्रतिक्रिया दिनुभएको थियो । दशैंको पूर्वसन्ध्यामा १७ असोजमा उहाँले जमुनाहा नाका खुला गरिदिनुभयो ।
जसका कारण कोरोनाका कारण मारमा परेको नेपालगन्जको दशैं बजार भारतमा केन्द्रीत भएपछि स्वदेशी व्यापारी मारमा परेका छन् ।
गुडन्यूज साप्ताहिक पत्रिकाबाट