पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

  ।   २०७८ आश्विन २०, बुधबार १५:२६

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ बालेगाउँको मेरो प्लानेट फनपार्क ।
फोटो : गुडन्यूज साप्ताहिक

संवाददाता, नेपालगन्ज ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज १ असोजदेखि पर्यटकका लागि खुला गरिएका छन् । कोरोनाका कारण निकुञ्ज बन्द थियो ।

बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड अपनाएर अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको बताउनुभयो ।

निकुञ्जमा आएका पर्यटकलाई जंगल सफारी र जङ्गलवाक् गर्न खुला गरिएको छ । उहाँले भन्नुभयोे, ‘पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीनजना मात्र जानुपर्ने व्यवस्था गरिएको छ ।’

१ असोजदेखि नै नेपालगन्जको राँझा नजिक वन्डरल्याण्ड नामक फनपार्कको शुभारम्भ भयो । बाँकेमा यसअघि नै दुई वटा फनपार्क सञ्चालन भइसकेका थिए ।

कोहलपुर नगरपालिकाको वडा नं. १४ हवल्दारपुरमा ह्याप्पी वल्र्ड फनपार्क सञ्चालन भएको छ । यो फनपार्कमा ३५ प्रतिशत भारतीय नागरिक आउँछन् । ‘आइतबार त ८० प्रतिशत भारतीय नागरिक नै हुन्छन् । अरु दिन कम्तीमा पनि २० प्रतिशत भारतीय हुन्छन्’, फनपार्कका प्रबन्धक निर्देशक सञ्जय थापाले जानकारी दिनुभयो ।

अर्को फनपार्क मेरो प्लानेट पनि नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १४ बालेगाउँमा साढे ३ बिघा क्षेत्रफलमा निर्माण गरेर सञ्चालन भएको छ । झन्डै ५० करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो फनपार्कको क्षमता ५ हजार छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई कसरी भित्राउने र यहाँको पर्यटन प्रबद्र्धनमा टेवा दिने नै हो । ‘हामी कहाँ आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय हुन्छन् । आइतबार त अधिकांश भारतीय मात्रै हुन्छन्’, फनपार्कका महाप्रबन्धक पदम सुवेदीले प्रष्ट पार्नुभयो । नेपालगन्जमा पर्यटकीय क्षेत्रको ठूलो सम्भावना छ ।

भारतसँग जोडिएको शहर छ । नेपालगन्जभन्दा त छिमेकी बहराइच जिल्लाकै मात्र जनसंख्या ५ गुणाभन्दा पनि बढी छ । बहराइच भन्दा बाहिरी जिल्ला र सहरबाट पनि भारतबाट आउन थालिसकेका छन् ।

मानसरोवर दर्शनका लागि नेपालगन्ज प्रवेशद्वार हो । नेपालगन्जका स्टार होटलमा आधा दर्जनभन्दा बढी क्यासिनो खुलेका छन् । क्यासिनोका लागि आउने पर्र्यटकलाई पनि प्याकेजको रुपमा समावेश गर्न सकिने सम्भावना छ ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज छ । ‘भारतीय पर्यटकहरुलाई आकर्षित गर्न सकेमा यहाँको व्यापार व्यावसाय उकास्न सकिन्छ’, सुवेदीले जिकिर गर्नुभयोे । अहिले प्रचार प्रसार नै नगर्दा पनि भारतको छिमेकी जिल्ला बहराइच, श्रावस्ती, कानपुर, बलरामपुर, गोण्डालगायतका ठाउँबाट आउने गरेका छन् ।’

यी तीन वटै फनपार्कमा शनिबार नेपालीहरू धेरै हुन्छन् भने आइतबार भारतीयहरूको कब्जा नै हुन्छ ।

नाटा बाँकेले चार्टर विमानबाट सुरु गरेको नेपालगन्ज पोखरा विमान उडान दैनिक रुपमा भइरहेको छ । नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देल कोरोनापछि पर्यटकीय क्षेत्रमा चलहपहल सुरु भएको बताउँनुहुन्छ ।

उहाँ भन्नुहुन्छ्, ‘कोरोनाको सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रले गति लिन थालेको छ । नेपालगन्जबाट पोखरा जाने र पोखराबाट बाँके बर्दियामा घुम्ने पर्यटकहरु आउन थालेका छन् । मानसरोवरका लागि भारतीय पर्यटकहरु आउन सुरु भइसकेको छ ।

पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ कोरोनाको कहरपछि पर्यटकीय गतिविधि बढेको बताउँनुहुन्छ् । संयोजक श्रेष्ठ सरकारसँग आग्रह गर्नुहुन्छ्, ‘कोरोनाबाट सबैभन्दा मारमा परेको पर्यटन क्षेत्रको विकासको लागि सरकारले सीमा नाकामा निर्वाध आवागमनको व्यवस्था गर्नुपर्छ ।’

सन्दर्भ : विश्व पर्यटन दिवसको अवसर पारी गुडन्युज साप्ताहिकका लागी तयार पारिएको खबर ।

 

Next Post

पर्यटन बिशेष गुडन्युजको नयाँ अंक पढ्नुहोस

२०७८ आश्विन २०, बुधबार १५:२६
Good News 17 Good News 17

सम्बन्धित समाचार