संवाददाता ।
जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को आज निधन भएको छ । ७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
काठमाडौं कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए ।
टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराउनुभएको छ । उहाँको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक चर्चित छ ।
त्यो भन्दा पहिले ’बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ गीतबाट ख्याति कमाउनुभएका उहाँ तत्कालिन नेकपा मालेको राजनीतिमा संलग्न रहेर मोरङमा बसोबास गर्नुभएको थियो ।
लामो समय एमालेमा तत्कालिन महासचिव मदन भण्डारीको निकट रहेर काम गर्नुभएका टुहुरे जनसेवा श्री पदक, हेम सरिता संगीत पुरस्कार लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।
उहाँ संविधानसभामा मनोनित सदस्य पनि हुनुहुन्थ्यो । जेवी टुहुरे, रामेश, मंजुलअरिमसँगै अग्रिम मोर्चामा रहेर संगीत कर्ममा जुट्नुभएको थियो ।
तत्कालिन नेकपा माले निकटस्थ जनसाँस्कृतिक मञ्चको स्थापनामा समेत सक्रिय रहनुभएका उहाँ पछिल्लो कालखण्डमा नेकपामा आबद्ध रहनुभएको थियो ।
#जेबी #टुहुरे
थाहा खबरबाट