संवाददाता, नेपालगन्ज ।
तराईको पूरानो सहर नेपालगन्जमा राज्यको मूलधारमा धेरै पछाडि परेका सिमान्तकृत जाति र समुदाय छन् । आधुनिकताका कारण उनीहरुको पेशा संकटमा छ ।
घँसियारा :
नेपालगन्जमा टाँगा व्यवसाय लोप भएपछि घँसियाराहरुको पेशा संकटमा पुगेको छ । अल्पसंख्यक तथा लोपोन्मुख घँसियारा जातिको मुख्य काम घाँस काटेर बेच्ने हो । घाँस काट्न र बेच्ने छोडेका छैनन् । ग्राहक फेरिएका छन् । ५५ वर्षिया छोट्ना केवटले गुनासो गर्नुभयो, ‘पहिले घोडाका लागि घाँस किन्दा हाम्रो आम्दानी धेरै हुन्थ्यो ।
अहिले बाख्राको लागि घाँस किन्छन् । घरखर्च जुटाउनैै गाह्रो हुन्छ ।’ दिनभर धेरै टाढा टाढा पुगेर घाँस काट्ने र बेच्ने गरेका उनीहरु घाँस बिक्री नहुँदा चिन्तित छन् ।
पुख्र्यौली पेशाले गुजारा भएपछि कतिले सालको पातका दुना टपरी बनाउने, ठेला लगाउने, तरकारी बेच्ने र ज्याला मजदुरीको काम गर्छन् ।
२१ बर्षिया मुनिता केवट गुनासो गर्नुहुन्छ, ‘रातिको ९ बजेसम्म घाँस बेच्छौं । बिक्री नभए भोलिपल्ट फाल्नुपर्छ ।’ घँसियाराहरु नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ८ र १३ मा सात पुस्तादेखि बस्दै आएका छन् । यो जातिको जनसंख्या २ सय ५० छ ।
कुशबँधिया :
नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्राका हण्डारी कुशबँधिया पुख्र्यौली पेशा संकटमा परेकोमा निकै चिन्तित छन् । अल्पसंख्यक जातिको सूचीमा पर्ने कुशबँधिया जातिको मुख्य पेशा ढुंगाको जाँतो, सिलौटो, लोहोरो बनाएर बेच्ने हो ।
पत्थर काट्ने, पथ्थरमा खोप्ने र बुट्टा भर्ने जाति भएकाले यिनलाई पत्थरकट्टा-शिलकट्टा पनि भनिन्छ । ‘बाँकेका गाउँगाउँमा गएर बेच्छौं । सुर्खेतसम्म पनि सिलौटो र जाँतो बेच्न जान्छौं’, हण्डारी भन्नुहुन्छ, ‘रेडिमेड मसला र मसला पिस्ने मिक्सरका कारण हाम्रो पेशा संकटमा पुगेको छ ।
कुशबँधिया जातिको बसोबास बाँके, बर्दिया र रुपन्देहीमा छ । कुशबँधिया उत्थान संघ केन्द्रीय कार्य समिति नेपालगन्जका कोषाध्यक्ष कुँडुवा कुशबँधियाका अनुसार बाँके जिल्लामा मात्र झन्डै २ सय ५० परिवार कुशबँधियाको बसोबास छ ।
नेपालगन्ज उपमहानगरपालिकाको फुल्टेक्रा र राँझाका साथै जानकी गाउँपालिकाको इन्द्रपुरमा यो जातिको बसोबास छ ।
किंघरियन :
मुस्लिम समुदायको उपेक्षित जातिका रुपमा रहेको किंघरियन, लोपोन्मुख र संकटोन्मुख जाति मध्ये एक हो । ‘किंगरी’ (एक प्रकारको बाजा) बजाउँदै गाउँ-शहर डुलेर पैंसा अनि खानेकुरा जोहो गर्ने र परिवार पाल्ने उनीहरुको पुख्र्याैली पेशा हो ।
‘किंगरी’ तथा भेडा, बाख्राको छालाबाट बनाइने सारंगीजस्तै आकार भएको एक प्रकारको बाजा हो । राजा रजौटा हुने समयमा उनिहरुको दरबारमा गएर नाचगान गर्ने, सफेडा, बिरहा तथा बरेठा नाच गीतहरु देखाउने गर्थे ।
उनीहरु नेपालगञ्जदेखि करिब ६ किलोमिटर पूर्व पुरैनी किंघरियनपूर्वामा बस्छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा किंघरियनको जनसंख्या करिब १ हजार ३ सय ५० रहेको छ । ंिकंघरियनहरु नेपालगन्ज– २२ पुरैनीमा बस्दछन् ।
चिडिमार :
चरा मारेर जीविकोपार्जन गर्ने चिडिमार जाति पनि नेपालगन्जमै छ । चराचुरुङ्गी मारेर जीवन निर्वाह गर्ने हुनाले नै उनीहरुलाई चिडिमार भन्न थालिएको हो ।
नेपालगन्ज– १२ मा मात्र बसोबास गर्ने चिडिमार लोपोन्ुमख तथा सिमान्तकृत जाति हो । चिडिमार बाँकेमा २ हजार ५ सयको हाराहारीमा छन् । जंगल प्रसस्त भएका बेला उनीहरु चरा मार्ने काम गर्थे । चरा पनि जहाँतहीं भेटिन्थे ।
जाल, नरकुल, लाशा आदि प्रयोग गरेर चरा छोप्ने र बजारमा ल्याएर बेच्थे । चरा बेचे वापतको पैंसा नै गुजाराको श्रोत बन्थ्यो तर अहिले त्यो काम छोडेका छन् ।
धानकुट्टा :
धान कुटेर जिविकोपार्जन गर्ने धानकुटट जाति पनि नेपालगन्जमा छ ।
सम्पन्न वर्गको घरबाट धान ल्याएर ढिकीमा कुट्ने र कुटेर चामल बनाए वापत पारिश्रमिक स्वरुप चामल पाउने नै धानकुटट जातिको मुख्य आयश्रोत हुन्थ्यो तर आजभोलि अत्याधुनिक चामम मिल भएपछि त्यो काम पनि हराएको छ ।
धानकुटट नेपालगन्ज २१ पुरैनामा बस्छन् । भारत बहराइचको लंगडी गुलर भन्ने ठाउँबाट नेपाल आएको बताइन्छ । धानकुट्टा सात पुस्तादेखि यहीं रहदै आएको पाइएको छ । यो जातिको जनसंख्या एक सय ५० जति मात्र छ ।
मगन्ता :
मागेर नै जीवन निर्वाह गर्ने मगन्ता जाति पनि बाँके जिल्लामै छ । उनीहरुको काम नै गाउँ र सहरका घरघर पुगेर मागेर घरखर्चको जोहो गर्ने हो । पहिले पहिले मगन्ताहरु वन्यजन्तुको शिकार गर्न शिकारी कुकुर पनि पाल्थे ।
कसै कसैले सर्प नचाएर पनि पैसा कमाउने गरेको पाइन्छ । माग्नका लागि मगन्ताहरु देशका धेरै भेगमा पुग्छन् ।
नेपालगञ्जमा राढ, कलवार, काँदु, बड्ही, कुम्हार, कहार, लखेर, ठटरियन लगायतका दर्जनौ जातहरु छन् । यी जातिहरुको अवस्था पनि नाजुक छ । उनीहरु पहिचान गुम्ने अवस्थामा छन् ।
गुड न्यूज साप्ताहिक पत्रिकाबाट