काठमाडौं । स्वयम्भू काठमाडौंका २४ बर्षीय अनिल (नाम परिवर्तन) परिवारसँग धेरै बेरसम्म घुलमिल भएर धेरै समय बस्न सक्दैनन् । पढाइमा ध्यान लगाउन सक्दैनन् । उनलाई पटक–पटक ५र६ वर्ष अगाडिका घटनाहरुले सताइरहन्छ । नकारात्मक कुराहरु दिमागमा खेलिरहन्छन् । कुनै नकारात्मक समाचार, घटना भिडियोहरु देख्दा त्यही कुरा आफ्नो जीवनमा पनि होला की भनेर डर लागिरहन्छ । मानसिक साइकोथेरापी उपचारको क्रममा रहेका उनी अझै पूर्ण रुपमा सामान्य जीवनमा फर्किन सकेका छैनन् ।
बालाजुका २१ वर्षीय सुजन (नाम परिवर्तन) को पनि समस्या अनिलसँग मिल्दोजुल्दो छ । उनलाई आफूलाई घरपरिवार, साथीभाइ मात्र नभएर बाहिर हिँड्दा सबैले आफूतिर ध्यान नदिउन् भन्ने लाग्छ । सबै हिसाबले आफू ठिक छु भन्ने थाहा भए पनि आफ्नो शारीरिक संरचना उनलाई मन पर्दैन । अनुहारका भागहरु नराम्रा छन्, म नराम्रो देखिएको छु भन्ने सोच बारम्बार मनमा आइरहन्छ । यही कुराले उनलाई परिवारका सदस्यले राम्रो कुरा गर्दा पनि रिस उठ्छ । झगडा गर्न र पिट्न मन लाग्छ, आफ्नो अगाडि भएका जेसुकै सामान फ्याँक्ने बिगार्ने, फुटाउने गर्छन् । झन्डै तीन वर्ष अगाडी सुरु भएको यो समस्याका बारेमा सुजनलाई राम्रोसँग थाहा छ । आफूले गरेका गल्तीहरुको पश्चाताप पनि लाग्छ तर पनि यी बानिहरुमा सुधार ल्याउन सकेका छैनन् ।
ललितपुरको मनोशास्त्र काउन्सिलिङ एण्ड रिसर्च सेन्टरमा एकैसाथ भेटिएका उनीहरु अहिले निरन्तर औषधि र साइको थेरापीमार्फत् उपचार गराइरहेका छन् । अनिल र सुजनलाई अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसीडी) को समस्या भएको उनीहरुको उपचारमा संल्ग्न मनोचिकित्सक डा. तृष्णा बिष्ट बताउँछिन् । यो मानसिक समस्या अन्तरगतको न्युरोटिक अर्थात् बिरामीलाई समस्याबारे थाहा हुने तर समस्यालाई चाहेर पनि यस्ता सोचहरु मनबाट हटाउन नसक्ने प्रकृतिको समस्या हो । अब्सेसन अर्थात् एउटै सोचले सताइरहनु, एउटै कुरा पटक–पटक दोहोर्याइरहनु र कम्पल्सन अर्थात् आफूले गरेको काममा शंका लाग्नु, त्यो क्रियाकलाप गर्नैपर्छ नगरे मलाई केही असर पर्छ भन्ने सोच आउनुको अवस्था नै ओसीडी हो । अब्सेसिभ र कम्पल्सन दुई छुट्टाछुट्टै समस्या हुन् । कोहीमा यीमध्ये एउटैमात्र समस्याको लक्षण हुनसक्छ भने केहीमा दुवैको लक्षण देखिनसक्छ । ओसीडीको समस्याका कारणहरुमा बंशाणुगत र मनोसामाजिक दुवै हुनसक्छन् । मनोसामाजिक कारणमा कुनै घटना, चित्र, भिडियो, लिखित सामग्रीहरुको असर हुनसक्छ । ओसीडी भएका व्यक्तिहरुलाई दैनिक ४० पटकसम्म एउटै सोच, क्रियाकलाप तथा चित्रहरु दोहोरिन सक्छ ।
अनिल र सुजनको हकमा यस्तै घटनाहरुले गहिरो असर पारेको डा. बिष्ट बताउँछिन् । अनिल १७ वर्षको उमेरदेखि युट्युबमा अश्लिल भिडियोहरु हेर्ने बानी परेको बताउँछन् । रातभर नसुतेर आफूले त्यस्ता भिडियोहरु लगातार दुई वर्षसम्म हेरेको र त्यसपछि लागुऔषधको कुलतमा फसेको उनी बताउँछन् । यो बीचमा उनको पढाइसमेत रोकिएको र आफ्नै केटी साथीलाई अश्लिल फोटो र भिडियोमार्फत् धेरैपटक ह्यारेस्मेन्ट गरेको पनि उनी सम्झिन्छन् । सुरुको अवस्थामा अनिलको परिवारमा थाहा नभएको हुँदा झन्डै पाँच वर्ष उनी यो समस्याबाट गुज्रिए । जोसुकै महिलालाई देख्दा पनि यौनसँग सम्बन्धित सोचहरु मनमा आउनु, आफ्ना परिवारलाई केही हुन्छ कि भनेर डर लागिरहनु उनले थाहा भएर पनि हटाउन परिवर्तन गर्न नसकेका सोचहरु हुन् । जुन उपचारको क्रममा केही कम हुँदै गएका छन् । मानसिक समस्या सामान्य हुँदै गएका अनिल अहिले आफूलाई मन पर्ने कुरा पढेर समय बिताउँछन् भने उद्यमी बन्ने सोचका साथ केही योजनाहरु बनाइरहेका छन् ।
सुजनको समस्याको कारण भने केही फरक छ । चारजनाको परिवारमा उनका आमाबुबाको दिनहुँजसो झगडा पर्ने गथ्र्यो । आमा बबिता (नाम परिवर्तन)का अनुसार श्रीमान श्रीमतीको विवादका क्रममा सामानहरु फुटाउने कुटपिट हुनेसम्मको अवस्था आउँथ्यो । यो सबै घटनाका प्रत्यक्षदर्शी दुवै छोराछोरी थिए । अन्ततः आजभन्दा तीन वर्ष अगाडी सुजनलाई ओसीडीको समस्या देखियो ।
डा। बिष्टका अनुसार बंशाणुगत र मनोसामाजिक कारणसँगै आफ्ना काम पर्फेक्ट गर्नुपर्ने, सानोतिनो समस्यामा पनि आत्तिने स्वभावका मानिसहरुमा यो समस्या देखिनसक्छ । विशेषगरी कोभिड–१९ को महामारीपछि आफूकहाँ उपचारमा आएका ५० प्रतिशत व्यक्तिहरुमा ओसीडीको समस्या देखिएको उनी बताउँछिन् । विशेषगरी युवा उमेरका व्यक्तिमा यो समस्या बढी देखिएको छ । सबै उमेर समूहमा हुनसक्ने यो समस्या बालबालिकामा भने पहिचान गर्न निकै कठिन हुन्छ । उनका अनुसार ओसीडीका विभिन्न प्रकार हुन्छन् ती प्रकारअनुसार देखिने लक्षण पनि फरक फरक हुन्छन् । कुनै दैनिक क्रियाकलापसँग पनि अनावश्यक रुपमा डराउनु, आफ्ना सामान्य क्रियाकलापहरुले पनि कसैलाई असर गर्ला की भनेर अनावश्यक रुपमा डराउनु, आफूलाईै आवश्यक नपर्ने कुराहरुमा अनावश्यक चासो राख्नु सिनेमा, चित्रलगायतमा हेरेका कुराहरु आफ्नो जीवनमा वास्तविक होलान कि भनेर डराउनु आदी सबै ओसीडीका लक्षण हुन् ।
युवा पुस्तामा बढ्दै गएको ओसीडीको उपचारमा मनोचिकित्सकीय र मनोवैज्ञानिक दुवैखाले उपचार पद्धती प्रयोग गर्नुपर्ने डा. बिष्ट बताउँछिन् । बिरामीको अवस्था हेरेर कतिसम्म र कुन–कुन उपचार पद्धती अपनाउने भन्ने निक्र्यौल गर्न सकिन्छ । निरन्तर औषधि सेवन र साइको थेरापी नै अब्सेसिभ कम्पल्सन डिस्अर्डरको उपचार भएको चिकित्सकहरु बताउँछन् । -बाह्रखरी