रुकुम पूर्व । रुकुम पश्चिमबाट एक वर्षमा करिब ७४ हजार लिटर दुध निर्यात भएको छ।
गत आर्थिक वर्षमा ७३ हजार ९९४ लिटर दुध नेपालगञ्ज निरयात भएको हो। मुसीकोट नगरपालिका–४ को नागरिक दुग्ध सहकारी संस्थाले दुग्ध विकास संस्थान नेपालगञ्जमा दुध पठाउने गरेको छ। दुध निर्यातबाट ४० लाख ६७ हजार ४८६ रुपैयाँ भित्रिएको छ।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा भने आर्थिक वर्ष २०७७/७८ मा दुध निर्यात घटेको छ। २०७६/७७ मा एक लाख १४ हजार ८८० लिटर दुध निर्यात भएको थियो। यसबाट ६१ लाख ९०० रुपैयाँ भित्रिएएको थियो। गत वर्ष कोरोना भाइरस महामारीका कारण लामो समय लकडाउन हुँदा दुध निर्यात घटेको नागरिक दुग्ध सहकारी संस्थाका अध्यक्ष धिरन शिर्पालीले बताउनुभयो ।
गत वर्ष करिब ७४ हजार लिटर निर्यात भएको र जिल्लाभित्र १४ हजार ७२८ लिटर दुध बिक्री भएको सहकारीले जनाएको छ। यसका अलावा दही लगायतका दुग्धजन्य पदार्थ उत्पादनमा पनि खपत भएको छ। सहकारीले एक वर्षमा एक हजार ६५७ लिटर दही, ४४ किलो पनिर, ३५ किलो खुवा, २८ किलो घ्यू र २ हजार १६७ प्लेट खिर पनि बिक्री गरेको छ। थाहाखबर