काठमाडौं । कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल कनौजिया मंगलबार पोल्याण्ड प्रस्थान गरेकी छिन् ।
कनौजियाले आगामी अगस्ट २१ मा पोल्याण्डको नोवा साक्जमा आयोजना हुने मिस सुप्रानेशनल पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्ने छिन । उनी सो प्रतियोगितामा भाग लिने तेस्री मिस नेपाल सुप्रानेशनल हुन् ।
आयोजक द हिडन ट्रेजरद्वारा जारी विज्ञप्तिमा पेजेन्टको तयारीको लागि कनौजियालाई कोरियोग्राफर रचना गुरुङ शर्मा, फोटोग्राफर राजभाई सुवाल, ड्रेस डिजाइनर मनीष राई, कासा तथा रानीज कलेक्सन लगायतले प्रशिक्षण दिएका थिए । प्रतियोगिताको नेशनल कस्ट्यूम राउण्डका लागि उनले नमूना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीहरुको कन्सेप्ट र डिजाइनमा तयार भएको पहिरन लगाउने छिन् ।
प्रतियोगितामा कनौजियाले नेपालको सांस्कृतिक पहिचान र प्राकृतिक सौन्दर्य तथा स्तन क्यान्सरको सचेतनाका लागि गरिएका पहलहरु समाविष्ट चार मिनेट लामो परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन् । सो भिडियोलाई लोकेशन नेपालको सहकार्यमा तयार गरिएको हो ।
भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी कनौजिया हाल एमबिए अध्ययनरत छिन् । -ईमेजखबर