कहाँ हुनुहुन्छ इजरायलबाट बेपत्ता भएका विपिन जोशी ?

  ।   २०८० मंसिर ८, शुक्रबार ०१:३६

काठमाडौं । इजरायलमा रोजगारीका लागि जानु भएका विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । इजरायलको किबुज स्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमढापछि बेपत्ता हुनु भएका जोशी गाजा क्षेत्रमा हमासको कब्जामा रहेको पुष्टि भएको हो ।

जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्याण्डका नागरिकहरुसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको सक्रियतामा उपलब्ध सबै कूटनीतिक तथा व्यक्तिगत च्यानलबाट बुझ्ने क्रममा आइतबार उहाँ सकुशल रहेको पुष्टि भएको हो । परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले विपिन सकुशल रूपमा गाजा क्षेत्रमा रहेको भरपर्दो सूचना प्राप्त भएको जानकारी दिनु भयो ।

नेपाली राजदूतावास र नेपालस्थित इजरायलको राजदूतावासबाट प्राप्त सूचनाका आधारमा जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि भएको हो ।

उहाँ त्यहाँ हमास समूहको नियन्त्रणमा रहेको आशंकामा हमास समूहसँग सम्बन्ध रहेका अरब मुलुकका समकक्षीहरूसँग परराष्ट्रमन्त्री साउदले यसअघि टेलिफोनमा संवादसमेत गर्नु भएको थियो । परराष्ट्र मन्त्रालयले हमासका मित्र मानिएका मुलुकको कूटनीतिक च्यानलमार्फत जोशीलाई पत्ता लगाउने र स्वदेश फर्काउन प्रयास गर्दै आउनु भएको थियो ।

परराष्ट्रमन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन गरेर जोशीको मुक्तिका लागि प्रयास गरिदिन अनुरोध गर्नु भएको थियि । मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको छ । सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) लगायतका संघसंस्थासँग पनि जोशीको खोजबिन गरिदिन अनुरोध गर्दै आएको थियो ।

इजरायलमा २० असोजमा हमास समूहले गरेको हिंसात्मक हमलापछि रहेका १७ जनामध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका जोशीलाई आक्रमणकारीहरूले लिएर गएको जानकारी स्वदेश फर्केका विद्यार्थीले दिएका थिए ।

हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । मृतकहरूको शव स्वदेश ल्याएर अन्तिम संस्कार सम्पन्न भइसकेको छ ।

आक्रमणमा परेर घाइते भएका सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको बयान दिँदै आउनु भएको थियो । उहाँहरूका अनुसार हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फाल्नु भएको थियो । त्यसपछि उनीहरुले जोशीलाई लिएर  गएका थिए ।

जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीको भनाइ थियो ।

Next Post

शसक्त बालिका परियोजना संचालन

२०८० मंसिर ८, शुक्रबार ०१:३६
नेपालगन्ज। बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना […]