बर्दियामा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि बढ्यो

  ।   २०७८ श्रावण १४, बिहीबार १९:२०


बर्दिया । आज विश्व बाघ दिवस । ‘बाघको अस्तित्व स् मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको छ । बर्दियामा बाघको सङ्ख्या बढेसँगै पछिल्लो दुई वर्षयता बाघ आक्रमणका घटना बढ्नुले बाघ र मानवबीच द्वन्द्वको चुनौती थपिएको हो ।

बर्दियामा आर्थिक वर्ष २०७६/०७७ मा ६ जना, २०७७/र०७८ मा १२ जना र यस आर्थिक वर्षको आजसम्म एक जना गरी १९ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यसैगरी नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जङ्गलमा राजापुरका एक भारतीयको बाघको आक्रमणबाट दुई वर्षअघि ज्यान गएको थियो । यस्तै बाघकै आक्रमणबाट बाँकेमा दुई र कैलालीमा एक जनाको ज्यान गएको छ । बर्दिया निकुञ्ज आसपासका जिल्लामा गरी दुई वर्षको अवधिमा पाटे बाघको आक्रमणबाट २३ जनाको ज्यान गएको छ ।

बाघ आक्रमणका घटना भएका स्थानमा गई निकुञ्जले बाघको उद्धार गर्ने गरेको छ । गएको आर्थिक वर्षमा मात्रै ६ वटा समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा १३ वटा बाघ पाइने राष्ट्र प्रमुखहरूको भेलाले सन् २०२२ सम्ममा नेपालले बाघको सङ्ख्या दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । नेपाल लक्ष्य नजिक पुगिसकेको छ । नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ ।

नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाए पनि बाघको सङ्ख्या बढिरहँदा जोखिम पनि बढेको छ ।

बर्दियामा पाटे बाघ आक्रमणका घट्ना बढेपछि यस वर्ष विश्व बाघ दिवसका अवसरमा हुने औपचारिक कार्यक्रममा खासै रौनक देखिएन । स्वतः स्फुर्त रूपमा संरक्षणमा लागेका निकुञ्ज आसपासका युवाहरूको समूह चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बाघलगायत अन्य दुर्लभ वन्यजन्तुको संरक्षणमा लागेका युवाहरूसमेत बाघ आक्रमणका घटना बढ्न थालेपछि निराश बनेका बताउनुभयो । सरकारले द्वन्द्व बढ्न नदिन विशेष कार्यक्रम ल्याउनुपर्ने उहाँको माग छ ।

बाघको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गरेको बर्दियामा बाघ र मानवबीच द्वन्द्व न्यूनीकरण गर्न बर्दिया निकुञ्जले रणनीतिक योजना बनाएर अघि बढेको छ । यसैबीच नेपाल सरकारले तत्काल छुट्टै विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको संरक्षणर्मीहरू बताउँछन् । -उज्यालो अनलाइन

Next Post

मेरा कारण मौद्रिक नीतिमा ढिलाइ भएको होइन : अर्थ मन्त्री शर्मा

२०७८ श्रावण १४, बिहीबार १९:२०
काठमाण्डौ । अर्थ मन्त्री जनार्दन शर्माले आफ्नो निर्देशनमा मौद्रिक नीति ल्याउन नरोकिएको दाबी गर्नुभएको छ । काठमाण्डौमा भएको कार्यक्रममा अर्थ मन्त्री शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोक्ने वा ढिलाइ गर्न निर्देशन दिने अधिकार आफूसँग नरहेको पनि बताउनुभयो । राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, नागरिकको […]