अल्मुताइरी राजीनामा प्रकरण

एन्फा भन्छ– औपचारिक जानकारी आएको छैन

  ।   २०७८ श्रावण १०, आईतवार १५:५४

संवाददाता ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरी सामाजिक सञ्जालमा निकै सक्रिय रहनुहुन्छ । विशेषगरी फेसबुकमा र इन्सटाग्राममा उहाँ नेपाली फुटबल समर्थकहरूसँग भलाकुसारी गर्नुहुन्छ ।

गत अप्रिलमा मुख्य प्रशिक्षकमा नियुक्त भएदेखि नै अल्मुताइरी सामाजिक सञ्जालमा सक्रिय देखिनुभएको छ । प्रायः जसो नेपाली टिमलाई बलियो समर्थन गरौँ भन्ने खालका स्टाटस अल्मुताइरीले लेख्दै आउनुभएको छ । यसबाट नेपाली समर्थकहरू उत्साहित देखिन्थे ।

कमसेकम अल्मुताइरीको स्टाटस मुनि आउने प्रतिक्रियाहरूले यही देखाउने गरेको छ । तर आज भने अल्मुताइरीको फेसबुक अकाउन्टमा फरक किसिमको स्टाटस आयो । जसमा लेखिएको थियो, ‘म एन्फा समक्ष राजीनामा बुझाउँदैछु ।’

राजीनामा दिनुको मुख्य कारण, एन्फाका उपाध्यक्ष पंकज नेम्बाङ भएको उहाँले दाबी गर्नुभएको छ । उहाँले नेम्बाङलाई आरोप पनि लगाउनुभएको छ, बारम्बार समस्या खडा गरेको भनेर ।

अल्मुताइरीको यस्तो स्टाटस आएपछि सामाजिक सञ्जालमा अल्मुताइरीको समर्थन र नेम्बाङको विरोधमा प्रतिक्रिया आइरहेका छन् । यसको मुख्य कारण, अल्मुताइरीले सामाजिक सञ्जालमा समर्थकमाझ स्थापना गरेको सम्बन्ध नै हो । अल्मुताइरीलाई मन पराउने समर्थकहरूले सामाजिक सञ्जालमा नेम्बाङको चर्को आलोचना गरिरहेको देखिएको छ ।

के भन्छन् नेम्बाङ ?
उहाँले पत्रकारहरूसँग भन्नुभयो, ‘ममाथि षड्यन्त्र भयो ।’ उहाँले एन्फाले छानबिन गर्नुपर्ने पनि बताउनुभएको छ । ‘एन्फाले यस विषयमा छानबिन गर्नुपर्छ । म दोषी देखिए राजीनामा दिन तयार छु ।

छानबिनबाट म दोषी भए म कारबाहीको भागिदार बन्नुपर्छ । अरु दोषी देखिए त्यही अनुसारको कदम चालिनुपर्छ । तर छानबिन चाँहि हुनुपर्छ र अहिले देखिएको समस्याको समाधान हुनुपर्छ ।’

उता एन्फाका प्रवक्ता किरण राईले आफूहरूकोमा औपचारिक रुपमा राजीनामाको जानकारी आइ नसकेको प्रतिक्रिया दिनुभएको छ ।

मुख्य प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमा राखेको स्टाटस देखेको तर औपचारिक रुपमा वा लिखित रुपमा केही नबुझाएको प्रवक्ता राईको भनाइ छ । अल्मुताइरी कतारी फुटबल संघको आर्थिक सहयोगमा नेपालका मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको हो ।

एएफसी प्रो–लाइसेन्स भएका अल्मुताइरीलाई एक वर्षका लागि जिम्मेवारी दिइएको हो । गत महिना कुवेतमा नेपालले उहाँकै प्रशिक्षणमा विश्वकप तथा एसियन कपको छनौटमा भाग लिएको थियो । आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि पनि उहाँले अभ्यास गराइरहनुभएको छ ।

इकागजबाट

Next Post

कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

२०७८ श्रावण १०, आईतवार १५:५४
संवाददाता । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिनुभएको छ । हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहनुभएका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । […]