बर्दिया । ठाकुरबाबा नगरपालिकाले फोहोर संकलन नगरेपछि युवाहरुले भुरिगाउँ बजार क्षेत्र सरसफाई गरेका छन्। यस क्षेत्रको फोहोर करिब दुई महिनादेखि उठेको छैन।
स्थानीय युवा निर्देश अधिकारीका अनुसार ठाकुरबाबाका सक्रिय युवा, नेपाल रेडक्रस सोसाइटी, हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी, नेपाल प्रहरी, नेपाली सेना, जिम क्लव तथा व्यापारीहरुको सहभागितामा फोहोर व्यवस्थापन गरिएको हो। दुई महिनादेखि बजारको मुख्य क्षेत्र तथा आसपासमा फोहोर थुप्रिँदासम्म पनि नगरपालिका मुकदर्शक भएको युवाहरुले गुनासो छ।
नगरपालिकाले उपयुक्त डम्पिङ साइटको व्यवस्थापन गर्न नसक्दा पटकपटक फोहोर बजारमा थुप्रिने गरेको छ। फोहोरले बजार दुर्गन्धित हुन थालेको भन्दै युवाहरुले पटकपटक नगरपालिकालाई जानकारी गराउँदा पनि पसल अगाडिको मात्रै उठाउने गरिएको स्थानीयको गुनासो छ।
यता नगरपालिकाले भने फोहोर व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रित भएको बताउँदै आएको छ। नगरपालिकाले वडा नम्बर ३ गोदानमा डम्पिङ साइट बनाउने निर्णय गरेको थियो। तर, गोदानका स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरेपछि भने व्यवस्थापनमा समस्या भएको वडा नम्बर १ का वडा अध्यक्ष श्यामलाल थारुले बताउँछन्। सहमतिअनुसार नगरपालिकाले गोदानका स्थानीयको केही माग पूरा नभएको भन्दै फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन्। थाहाखबर