नेपालगन्ज । यही चैत २५ गते देशभर नै नेपाल पत्रकार महासंघको चुनाव सम्पन्न भएको छ ।
बाँके जिल्लाबाट म आफैं जिल्ला सदस्यको उमेद्वार भएर चुनाव लड्दाको अनुभव यहाँहरु सामु पस्कन गइरहेको छु । मैले सोच्ने गर्दथे, मत माग्ने र मत दिने बीच कुन विन्दुमा पुगेपछि त्यो मन, यो मनमा आएर बास बस्न सक्ला रु राजनीतिक दलको चुनाव, स्थानीय चुनाव, ट्रेड युनियनहरुको चुनाव र बौद्धिक पेशा मानिने पत्रकारको चुनावमा के अन्तर होला रु कुनै दिन कुण्ठित यी जिज्ञासाको उत्तर बनेर आफैं उपस्थित हुन पाउनुको क्षणलाई जीवनकै गौरवपूर्ण र बिशुद्द नौलो पाठशाला मानेको छु ।
यसरी यी प्रश्नहरुको उत्तर अनुभव गर्न चुनाव नै लड्नपर्ने रहेछ । जीत, हार एउटा प्रक्रिया नै हो । जितेर हार्ने भन्दा हारेर जित्ने मनोविज्ञानलाई मैले पहिल्यै धेरै पटक अन्य ट्रेड युनियनको चुनावमा परिपक्व बनाएको छु । अनुभवले खारिँदै गएपछि मानिसले बाहिरी हैन, भित्री आँखाले हेर्न रुचि राख्दोरहेछ ।
बालुवामा तीतेपाती रोपेर पिपलको आश गर्नु पाखण्ड शिवाय केही होइन रहेछ । विश्वास गरेका हरुले पनि नजानिदो किसिमले धोका दिने रहेछन् । नेताका घरआँगनमा उमेद्वारीको ठेगान लाग्ने, दल विशेषको उर्दीमा मतदान हुने, भेगीय र जातीयता आधारमा मतदान हुने, लेख्न, बोल्न र पढ्न जान्ने पत्रकारका लागि महासंघको चुनावको लडाइँ बडो कठिन पूर्ण रहेको मेरो अनुभवले बताउँछ । चुनावमा कुनै चमत्कार नभएसम्म वास्तविक पत्रकारिता र योग्य व्यक्तिको बाटो बन्द नै रहनेछ ।
बोल्दा एउटा बोल्ने, गर्दा अर्को गर्ने, मनमा एउटा, विचारमा अर्को र कर्ममा तेस्रो चरित्र देखाउनु चलेका पत्रकारको दैनिकी हो । राजनीतिक राप, छाप र तापमा उनीहरुको मापन हुन्छ । ठोकेर भन्न सकिन्छ– पत्रकारका संगठनहरु दलीय मोर्चा हुन । राज्यका श्रोत, साधन, अलंकार, सुविधा यिनीहरुको मनमौजीमा चल्छन । सञ्चारमन्त्रीको टाइसेट यिनीहरु बनाउँछन । चाहेकालाई शिरमा पुर्याउनु र नचाहेकालाई सिध्याउनु पनि यहाँ वरिष्ठ कहलिएका पत्रकारहरुको परम्परा नै रहेछ । संघ, प्रदेशदेखि स्थानीय स्तरको वडासम्म यो रोग छ । मलाई पनि त्यही विकृति भएरै त्यहाँ पुग्ने रुचि जागेको थियोे र हो ।
अहिले गणितीय चुनावमा हारेपनि कर्मको अदालतमा किमार्थ हारेको छैन । बरु चट्टान जस्तै अझ परिपक्व भएर अगाडि बढ्दै जाने मन पलाएको छ । मलाई विश्वास गरी मत हाल्नेको त्यो अमूल्य भरथेगलाई सधैं सम्मान गर्छु र उहाँहरुको ऋणी हुनेछु । पहिलोपटक यो चुनाव हारेपनि तपाईंहरुका अपेक्षा पूरा गर्ने रोडम्यापको अग्रमोर्चामा रहेर आगामी दिनहरुमा लड्ने विश्वास दिलाउँन चाहान्छु । सधैंभरि सत्कर्मको सत्पात्र बन्ने यात्राबाट कहिल्यै विमुख हुने छैन् ।
अन्तमा, यहाँ प्यानलमा उठेपनि, जति प्रशिक्षणको फुइ लगाएपनि रातारात बिक्ने र सामुन्ने एउटा बोल्ने र पछाडि अर्काको लबिङ गर्नेहरुसित सतर्कता अपनाउनु पर्ने पाठ अहिलेको महासंघको चुनावी मत परिणामले बताएको छ ।