काठमाडौं । बलिउडमा चर्चित तीन सुपरस्टार सलमान, शाहरूख र आमिरको र महत्वपूर्ण योगदान छ । यी तीन सुपरस्टारमा के–के समानता छन् त ?
पहिलो समानता भनेको यी तीनै सुपरस्टार खान हुन् । यसका साथै बलिउडका यी तीन सुपरस्टारहरूको जन्म पनि एउटै सालमा अर्थात १९६५ मा भएको थियो । जब यी तीनै जनाले फिल्म उद्योगमा आफ्ना पाइला सुरु गरे, आधुनिकीकरण, राम मन्दिर र आर्थिक संकटको प्रतिध्वनी सुन्नमा आएको थियो ।
त्यस्तो समयमा तीन खानले संघर्षकाबीच कसरी आफ्नो स्थान बनाउन सफल भए, वरिष्ठ पत्रकार कावेरी बमजाईले आफ्नो नयाँ पुस्तक ’द थ्री खान्सः एन्ड द इमर्जेन्स अफ न्यू इन्डिया’ मा उल्लेख गरेका छन् ।
भारतका दिग्गज पत्रकार कावेरी बमजईले बीबीसीसँगको विशेष कुराकानीमा भने, “सन् १९८८ मा तीनै जनाले करियरको सुरुवात गरिरहेको कुरा मलाई रोचक लाग्यो । त्यस्तो समयमा जहाँ हामीसँग हरेक कुरा एउटा मात्रै हुन्थे– एउटा च्यानल, एउटा टेलिभिजन, एउटा टेलिफोन, सिंगल थिएटर । यस्तोमा उनीहरूको करियरको परिवर्तनसँगै भारत पनि परिवर्तन भयो ।”
चलचित्र ‘दिलवाले दुल्हनीया ले जाएंगे’, ‘मैने प्यार किया’, र ‘कयामत से कयामत तक’ यी चलचित्रलाई राम्रोसँग हेर्ने हो भने सबैमा असल प्रेमी, पति र छोराको रूपमा अभिनेताहरूलाई देख्न सकिन्छ । र, यी चलचित्रमार्फत् पर्दामा ‘मिडिल क्लास भ्यालुज’ लाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको बमजईको भनाइ छ ।
विजयको स्थान राज र प्रेमले लियो
पुराना चलचित्रमा गाँउको समस्या, समाजमा भइरहेका अन्याय र बदला अनि गरिबी देखाइन्थ्यो । यद्यपि परिवर्तित समयमा ‘साथी हाथ बढाना’ ले ‘दिल माँगे मोर’ मा जोड दिन थाले । अब सबैकुरा पहिला जस्तो थिएन, सबैकुरा परिवर्तन भइरहेका छन् ।
कावेरी बमजई भन्छन्, “९० को दशकमा मानिसहरू राम्रो खाना, राम्रो लगानु र संसार घुम्न चाहन्थे । पहिला मानिसहरू स्विजरल्यान्ड जाने सपना देखिरहेका थिए, तर उनीहरूको चलचित्र मार्फत यो सजिलो भयो ।”
त्यही समय थियो जब चलचित्रमा विजयको भूमिका प्रेम र राजले परिवर्तन गरिदियो । “विस्तारै गाँउ र गरिबी ठूलो पर्दाबाट हटिरहेको थियो । चलचित्रमा ८० दशकमा देखिने रिस, आक्रोश कम हुँदै गएको थियो । यदि पर्दामा रिस देखिहाले पनि ‘बाजीगर’, ‘अन्जाम’ वा ‘डर’ त्यो सामाजिक र राजनीतिक विषयमा नभएर व्यक्तिगत थियो,” बमजई भन्छन् ।
पारिवारिक दर्शकलाई हलमा फिर्ता ल्याने तीन खान
८० दशकको उत्तरार्धमा जब लोकप्रिय हिन्दी चलचित्र वीसीआर लहरमा डुबिरहेको थियो, तीन खानले पारिवारिक दर्शकलाई हलमा फर्काए । ‘कयामत से कयामत तक’, ‘मैने प्यार किया’ र ‘दिवाना’ को जमानामा आएका ‘हुकुमत’, र ‘तेजाब’ जस्ता चलचित्रकाबीच पनि आमिर खानको ‘क्युट हिरो’ वाला छवि दर्शकले स्वीकारेका थिए ।
पत्रकार कावेरी आमिरको बखान यसरी गर्छन्, “जब आमिर खानले ‘पापा कहते हैं बडा नाम करेगा’ गाए, तब उनले एउटा नयाँ पिँढीका लागि यो गीत गाएका थिए । यो पुस्ता बुढ्यौली भैसकेका धर्मेन्द्र वा पर्दामा चिच्याउने अनिल कपुरसँग आफूलाई जोड्न सकिरहेका थिएनन् ।”
शाहरूख खानले ‘रिस्क’ लिए र बने ‘पोस्टर ब्वई’
आफ्नो ३ दशकको पत्रकारिता करियरमा कावेरी यी तीनै खानहरूको करियरलाई नजिकबाट नियाल्ने मौका पाए । कावेरीको यही अनुभवले यी तीन खानमध्ये शाहरूख खानको संघर्षको कथा केही गहकिलो भएको बताउँछ ।
उनी भन्छन्, “सबैभन्दा ठूलो चुनौती शाहरूख खानकोसामु आएको थियो । इन्डस्ट्रीमा धेरै व्यक्तिहरूको प्रवेश भयो । तर, शाहरूख खान त्यो पहिलो कलाकार थियो, जो बाहिरबाट आएका थिए ।”
यसलाई थप प्रस्ट्याउँदै कावेरी थप्छन्, “अमिताभ बच्चन पनि कोलकत्ताबाट आएका थिए, तर उनीसँग एउटा प्लसप्वाइन्ट यो थियो कि उनी इन्दिरा गान्धिका साथीका छोरा हुन् । सबैजनाले यहीबाट चिन्थे । यद्यपि शाहरूख खानको इन्डस्ट्रीमा कोही पनि थिएनन् । उनी केवल आफ्नो प्रतिभाको आधारमा आएका थिए ।”
टेलिभिजनबाट यात्रा सुरु गरेका शाहरूखले टेलिभिजनमा राम्रो काम गरेर आफूलाई ठूलो पर्दामा ल्याए । ती चलचित्रहरूमा अभिनय गरे जुन सलमान र आमिरले नगर्ने भनेर छोडेका थिए । ‘बाजीगार’ चलचित्र सुरुमा सलमानलाई अफर गरिएको थियो, तर उनले गर्न अस्विकार गरे ।
त्यस्तै चलचित्र ‘डर’ पनि सुरुमा आमिर खानलाई अफर गरिएको थियो । तर, उनले अस्वीकार गरेपछि उक्त चलचित्र शाहरूख खानको पोल्टोमा पर्यो ।
शाहरूखले अफ्नो जिन्दगीमा ठूलो ‘रिस्क’ लिएको कावेरीको बुझाइ छ । उनका अनुसार शाहरूख खानलाई बलिउडको पन्जाबी हिन्दू क्लबको साथ मिलेको थियो । यश चोवडा, यश जौहर, आदित्य चोपडा र पछि करण जौहरकै कारण उनले ‘पोस्टर ब्वई’ बन्ने मौका पाएका थिए ।
कैयौँ गल्ती अनि ‘फ्लप’ चलचित्र
सलमान र आमिरको पनि लामो संघर्षको यात्रालाई नजिकबाट नियालेका कावेरी भन्छन्, “आमिर र सलमान दुवै फिल्मी परिवारबाट आएका हुन् । यति हुँदाहुँदै पनि उनीहरूको चलचित्रको यात्रा सजिलो पक्कै थिएन ।”
आमिरका बुवा हिन्दी चलचित्र उद्योगमा कहिल्यै सफल हुन सकेनन् । यता सलीम खान लेखकको तौरमा बलिउडका चर्चित नाम हुन् । तर, बलिउडजस्तो विश्वकै ठूलो चलचित्र उद्योगमा पनि लेखकले पाउनुपर्ने नाम र अधिकार पाउन सक्दैनन् ।
“त्यसैले उनीहरूले (आमिर र सलमान) पहिलो चलचित्र पाउनका लागि धेरैलाई बिन्ती गर्नुपर्यो । तीनै खानले पहिलो चलचित्र गरेपछि कैयौँ गल्ती गरे र लगातार फ्लप चलचित्र दिए ।”
‘लगान’, ‘दबंग’, र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ यी तीनै चलचित्र हुन्, जस्ले सलमान, आमिर र शाहरूखको करियरलाई नयाँ मोड दिन सफल बने । यी चलचित्र गर्नुभन्दा अघि उनीहरूले करियरमा कैयौँ गल्ती गरेका थिए ।
उनले आफ्नो पुस्तकमा सञ्चार माध्यमप्रति सलमानको आक्रोशलाई पनि समेटेका छन् । “सलमानलाई पहिलेदेखि नै मिडिया आफूलाई मन पराउदैनन् र उनकै बारेमा धेरै आलोचना गर्छन् भन्ने लाग्थ्यो । सलमानले त आफ्नो निजी जिन्दगीमा धेरै गल्तीहरू गरेका थिए ।”
खान उपनाम परिवर्तन गर्न आवश्यक नभएको समय
समाज र मानिसहरूको सोच परिवर्तन भइरहेको थियो । त्यसैले यी तीन खानले आफ्नो उपनाम परिवर्तन गर्नुपरेन । अझ आमिर, सलमान र शाहरूख परिचयको राजनीतिमा चल्ने धर्म जाती र लिङको सधैँ विरोधमा थिए ।
त्यसैले त आमिरले हिन्दू श्रीमती ल्याए । शाहरूखकी पत्नी पनि हिन्दू नै हुन् । शाहरूख र आमिरको जस्तै सलमानको प्रशंसकहरू पनि हिन्दू–मुसलमान दुवै छन् ।
यी तीनै खान हुन्, जस्ले आम दर्शकलाई सिंगल स्क्रिनबाट मल्टिप्लेक्स थिएटरमा ल्याउन सफल बने । उनीहरूकै युगमा रजत महोत्सव र स्वर्ण महोत्सव विस्तारै हराउँदै गएको पत्रकार कावेरीले उल्लेख गरेका छन् ।
‘शोले’ पछिको संगीत
लोकप्रिय ट्रेन्ड एक्सपर्ट आमोद मेहराका अनुसार यी तीन खानको सफलताको श्रेय उनीहरूको चलचित्रमा प्रयोग भएका संगीत नै हुन् । जहाँ अन्य अभिनेताहरू एक्सन हिरोको दौडमा दौडिरहँदा उनीहरू भने रोमान्टिक हिरोको छवि लिएर पर्दामा आए र उनीहरूलाई साथ संगीतले दिए ।
उनीहरूको चलचित्रमा संगीत यति दमदार थियो कि जसले दर्शकलाई हलसम्म तान्न सफल बन्यो । युवा पिँढीलाई रोमान्टिक चलचित्रहरू मन पर्न थालेको आमोदको बुझाइ छ ।
‘एक्सन र रोमान्टिक छविबाट निस्केर नयाँपन आवश्यक’
‘ओटीटी प्लेटफर्म’को जमानामा तीन खानहरूमध्ये सलमान र शाहरूख आफ्नो एक्सन र रोमान्टिक छविबाट निस्केर केही नयाँ नगरे यो युगमा उनीहरूका लागि निकै चुनौतीपूर्ण हुने आमोद बताउछन् ।
उनकाअनुसार यो दौडमा आमिरले बाजी मारिसकेका छन् । आमिर आफूलाई क्यारेक्टर रोलमा ढाल्न सफल बनिसकेका छन् ।
तर, पत्रकार कावेरीको भनाइ भने आमोदकोभन्दा फरक छ । उनी यी तीन खानको सफल दौड निरन्तर भइरहनेमा विश्वास गर्छन् । यति भनिरहँदा उनी यसका लागि यी खानहरूले आफूलाई केही फरक ढंगबाट प्रस्तुत गर्नुपर्ने तथ्य भने नकार्दैनन् । दर्शकसँगको तीन खानको तीन दशकको सम्बन्ध यति सजिलै नटुट्ने कावेरीको विश्वास छ । बीबीसीबाट ।