रुपन्देही । लुम्बिनी प्रदेशसभामा कानुन निर्माणमा आवश्यक दक्ष, विज्ञ तथा जनताको सहभागिता हुनुपर्ने आवश्यकता औल्याईंएको छ । नयाँ बनेका ऐन कानुनहरूका कारण झमेला भएको भन्दै त्यतातर्फ ध्यान दिन जरुरी रहेको लुम्बिनी प्रदेशसभाका सदस्यहरूले बताएका हुन् ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको ‘प्रभावकारीता र खुलापनको कसीमा लुम्बिनी प्रदेशसभा’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै सांसदहरूले बताएका छन् । बनेका कानुनका कारणले झमेला सिर्जना भएको विषयगत समितिका सदस्य तथा सभापतिहरूको गुनासो छ । उनीहरूले नेपालमा धेरै कानुन भएकोले धेरै काममा बाधा पुगेको बताए ।
एउटा कानुनले गर्न मिल्ने काम अर्को कानुनले गर्न नमिल्ने भनेकाले कानुन निर्माणमा समस्या आइरहेको सार्वाजनिक लेखा समितिका सदस्य विष्णु पन्थी बताउनुहुन्छ । आन्तरिक मामिला तथा कानुन समितिका सदस्य भोज प्रसाद श्रेष्ठको गुनासो पनि उस्तै छ ।
प्रदेशसभाका समितिहरूका बैठकमा विषयविज्ञ बोलाउन माग गर्दा समेत ल्याउन नपाएको समिति सभापतिहरूले बताएका छन् । आफूहरू विज्ञ नभएको विषयमा बाहिरबाट विज्ञ बोलाउन माग गरे पनि नपाएको कृषि वन तथा वातावरण समितिका सभापति विजय कुमार यादवको गुनासो छ ।
यता लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीले आफूहरूले उत्कृष्ट भन्दै विभिन्न कार्यहरू गर्दै आए पनि सबै काम जनअपेक्षित हुन नसकेको स्वीकार्नुहुन्छ । उहाँले फास्ट ट्रयाकमा काम गर्दा पनि अप्ठ्यारो, ढिलो गर्दा पनि अफ्ठ्यारो अवस्था सिर्जना भएको बताउनुभयो ।
कार्यक्रममा लेखक तथा राजनीतिक विश्लेषक मणिकर कार्की र लेखक युवराज कँडेलले प्रदेशका काम तथा अपेक्षा र जनता सहभागिताको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।