लागूऔषध निस्तेज गरौं : बाँके प्रहरी प्रमुख राना

  ।   २०७७ माघ २१, बुधबार १८:४३

बाँकेमा लागू औषध ब्राउन सुगर र कोरेक्ससहित पक्राउ परेका व्यक्तिहरु ।

फोटो सौजन्य : जिल्ला प्रहरी कार्यालय बाँके…

संवाददाता, नेपालगन्ज

*  गत ७ साउनमा बाँकेको डुडुवा गाउँपालिका १ का वर्ष ३० का आशिष अहिर र २७ वर्षका राजकुमार यादवलाई ६५ शीशी कोरेक्ससहित पक्राउ ग¥यो । भारतबाट आउँदै गरेका उनीहरुले बोकेको बोरामा शंका लागेर चेक जाँच गर्दा कोरेक्स फेला परेको हो ।

*  ३२ वर्षका राकेशकुमार लोनिया र २८ वर्षका छविलाल लोनिया गत २९ साउन नेपालगन्ज उपमहानगरपालिका २२ शान्तिचोकबाट प्लाष्टिकको २ र कागजको १ वटा पुडियामा राखेको २ ग्राम १०० मिलिग्राम ब्राउनसुगरसहित प्रहरी नियन्त्रणमा परे । लागू औषधको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

*  गत २५ कार्तिकमा कोहलपुर नगरपालिका २ बसपार्कको भेरी गेष्ट हाउसको कोठा नं.१०५ बाट प्रहरीले जाजरकोटका २ जनालाई नियन्त्रणमा लियो । नलगाढ नगरपालिका–९ का वर्ष ४५ का जयबहादुर सिंह र वर्ष ३३ को वीरेन्द्रमान सिंहबाट कालो रंगको झोलाभित्र ७ वटा प्लाष्टिकको पोका बनाएर राखेको अवस्थामा ७ किलोग्राम अफिम बरामद गरेको थियो ।

बाँके प्रहरीले लागू औषध नियन्त्रणमा लिएको र पक्राउ गरेका यी त प्रतिनिधिमूलक घटना मात्र हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ठूलो परिणाममा लागू औषध बरामद गरेको छ भने ४५ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

एसपी रानाले बाँके प्रहरीको नेतृत्व सम्हाल्दै गर्दा सार्वजनिक गरेको १७ बुँदे प्राथमिकताको ७ औं नम्बरमा लागू औषध दुव्र्यसनी तथा ओसारपसार तथा कारोबार नियन्त्रण र न्यूनिकरण रहेको छ ।

उहाँ भन्नुहुन्छ्, ‘खुला सिमानाका कारण बाँकेलाई लागू औषध ओसारपसारको लागि ट्रान्जिट नै बनाउन खोजेको देखिन्छ । नेपालबाट अफिम, गाँजा, चरेस भारततिर जान्छ भने ब्राउन सुगर, कोरेक्स लगायतका लागू औषध नेपाल भित्रिन्छ । यसको नियन्त्रण गर्न हामी अभियानकै रुपमा लागेका छौं ।’

बाँके प्रहरीले जिल्लाभरी लागू औषधको प्रयोग र कारोबार रोकथाम गर्न ‘लागू औषध निस्तेज महाअभियान–२०७७’, सुरु गरेको छ ।

लागू औषध सेवनका असरहरुबारे जनचेतना फैलाउने, दुव्र्यसनीलाई काउन्सिलिङ गरी दुव्र्यसनको लतबाट अलग पार्ने, लागू औषधजन्य बोट विरुवाको ओसारपसारमा रोक लगाउने रहेको छ ।

त्यस्तै, लागू औषध अपराधको संलग्नलाई पहिचान गरी कानुनी दायरामा ल्याउने र लागू औषध अपराध अनुसन्धान, नियन्त्रण गरी यसले पारिरहेको असर न्यूनिकरण गर्दै समाजका विकृति विसंगति हटाइ समुन्नत समाज विकास गर्ने महाअभियानको उद्देश्य रहेको एसपी राना बताउँनुहुन्छ ।

अभियान अन्तर्गत अहिले जिल्लाका सम्पूर्ण ८१ वटा वडामा वडा स्तरीय लागू औषधविरुद्धको एक्सन समिति गठन गरिएको छ ।

समितिले गोप्य रुपमा स्थानीय स्तरमा लागू औषध प्रयोगकर्ताको सूची बनाउने र लागू औषधको कारोबारबारे प्रहरीलाई सूचना दिने काम गरेको छ । समितिमा वडा अध्यक्षदेखि वडा सदस्यहरु छन् ।

महाअभियान अन्तर्गत जिल्लाका एक सय ठाउँमा लागू औषधविरुद्ध सचेतना जगाउने होडिङ बोर्डहरु राख्ने काम भइरहेको छ ।

यो महाअभियानमा स्थानीय तह, सामुदायिक प्रहरी सेवा केन्द्र, निःशुल्क लागू औषध परामर्श केन्द्र, उद्योग वाणिज्य संघ, रिहाब सेन्टर, नागरिक समाज, आमा समूह, युवा क्लब, बाल क्लबलगायत जस्ता सरोकारवाला सामाजिक संघ संस्थाहरुबीच सहकार्य भइरहेको छ ।

‘लागू औषध सेवनबाट व्यक्ति मात्र होइन, परिवार, बस्ती र समाजलाई नै हानी पुग्छ’, प्रहरी प्रमुख राना अनुरोध गर्नुहुन्छ, ‘लागू औषधको सेवन र कारोबार रोकथाम गर्दै न्यूनिकरणबाट निस्तेज बनाउने महाअभियानमा सबै जुटौं । समाजका सबै क्षेत्रका व्यक्तिको हातेमालो जरुरी छ ।’

#लागूऔषध  #प्रहरी  #समाज

गुडन्युज साप्ताहिक पत्रिकाबाट…

Next Post

सन्दर्भ :  विश्व क्यान्सर दिवस

२०७७ माघ २१, बुधबार १८:४३
– प्रेचन थपलिया आज विश्व क्यान्सर दिवस। विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष फ्रेब्रुअरी ४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका बिरामी रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ। क्यान्सरबाट वर्षेनी विश्वमा करिब ८० लाख जनाको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले […]