निता शाह
बाँके । खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा निर्मित प्रसुती गृह हस्तान्तरण गरिएको छ ।
सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण भएको प्रसुती भवनको कागजपत्र आड्रा नेपालका स्वास्थ्य क्षेत्र टीम लिडर डाक्टर घनश्याम भट्टले खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकलाई हस्तान्तरण गर्नुभएको हो ।
१८ लाख ४१ हजार रुपैंयाको लागतमा निर्मित प्रसुती भवनको उद्घाटन गर्दै कार्यवाहक अध्यक्ष विकले सुरक्षित रुपमा सुत्केरी गराउनका लागि बर्थिङ सेन्टरले टेवा पुग्ने बताउनुभयो ।
उहाँले वडा नम्बर ७ जहाँ मुस्लिम र मधेशी बाहुल्य बस्ती छ त्यहाँ निर्माण भएकोे भवन उपयोगी सिद्ध भएको उल्लेख गर्दै भिडियो एक्सरे लगायतका आवश्यक थप स्वास्थ्य सामाग्री उपलब्ध गराउन सम्बद्ध सहयोगी दातालाई आग्रह गर्नुभयो ।
कार्यवाहक अध्यक्ष विकले स्थानीय सरकार र सहयोगी संस्थाको सहकार्य र समन्वयबाट अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै आड्रा नेपालका स्वास्थ्य क्षेत्र टीम लिडर डाक्टर घनश्याम भट्टले देशभर ६० ठाउँमा यस्ता बर्थिङ सेन्टर निर्माण गरेको बताउनु्भयो ।
आड्रा जापानकी युका ओनिसी, इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले प्रसुती भवनको सही सदुपयोग गर्दै दीगोरुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
खजुरा गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष अतिउल्ला खानले सोनपुर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य उपकरणको अभाव रहेकाले सहयोगका लागि आग्रह गर्नुभयो ।
भवरभवानी निर्माण सेवाले ५ महिनामा निर्माण सम्पन्न गरेको हो । नवजात शिशु तथा बालसुधार परियोजना अन्तरगत सो प्रसुती भवनको निर्माण गरिएको हो ।
#प्रसुती #भवन #खजुरा