नेपालगन्ज, । बाँके यूनेस्को क्लब र राधा कृष्ण थारु जनसेवा केन्द्रले बर्दियाको गुलरियामो सबै कर्मचारीको सहभागिता रहेको एकदिन त्रैमासिक बैठक सम्पन्न गरेका छन् ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो बैठकमा २३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।बैठकको मुख्य उद्देश्य परियोजनाको प्रगति समीक्षा गर्नु, फिल्ड स्तरमा देखिएका चुनौतीहरूबारे छलफल गर्नु तथा समग्र परियोजना व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनु रहेको जनाईएको छ ।
बैठकमा फिल्ड कर्मचारीहरूलाई परियोजना कार्यान्वयनका क्रममा प्राप्त अनुभव, चुनौती तथा सिकाइहरू साझा गर्ने अवसर प्रदान गरिएको थियो । छलफलका मुख्य बुँदाहरू एम एन्ड इ अफिसर धिरज चौधरी र प्रोग्राम अफिसर बिजय शर्माले दस्तावेजीकरण गरेका थिए, जसले भविष्यका लागि सन्दर्भ सामग्रीका रूपमा काम गर्ने जनाइएको छ ।
बैठकमा विभिन्न विषयगत प्रस्तुतीकरणहरू पनि गरिएको थियो । प्रोजेक्ट अफिसर सञ्जय चौधरीले संरक्षण सम्बन्धी गतिविधि तथा फिल्ड स्तरका वास्तविक अवस्थाबारे प्रस्तुति दिनुभएको थियो । त्यसैगरी प्रोग्राम अफिसर सीमा ओलीले शिक्षा सम्बन्धी गतिविधिहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । एम एन्ड इ अफिसर धिरज चौधरीले डाटा प्रविष्टिमा देखिएका त्रुटि तथा सुधारका उपायबारे जानकारी दिनुभएको थियो भने बिजय शर्माले त्रैमासिक उपलब्धि, सिकाइ तथा कार्यान्वयनका चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो । सो बैठक राधा कृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञ पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम बिशेषज्ञ झलक बिश्वकर्मा, शिक्षा बिशेषज्ञ शान्ति थापा र हसरत अलीको विशेष सहभागिता रहेको थियो । उहाँहरूको सहभागिताले प्राविधिक सुझाव तथा रणनीतिक मार्गदर्शन प्रदान गरेको जनाइएको छ ।
कार्यक्रमको सहजीकरण राधा कृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल र बाँके यूनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले गर्नुभएको थियो ।
यसैबीच राधा कृष्ण थारु जनसेवा केन्द्रका फाइनान्स तथा लजिस्टिक अफिसर मनोज मजगैयाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै परियोजनाको खर्च तथा आर्थिक अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
बैठकमा जनवरीदेखि मार्च २०२६ सम्मको त्रैमासिक प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो । प्लान इन्टरनेशनल नेपालका प्रतिनिधिहरूले पनि महत्वपूर्ण सुझावहरू दिनु भएको थियो । बैठकको समापन गर्दै अध्यक्ष यज्ञ पोखरेलले सबै कर्मचारीहरूको सहकार्यले परियोजना सफल कार्यान्वयनतर्फ अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभयो । यो बैठकले समीक्षा, सिकाइ तथा समन्वयको प्रभावकारी प्लेटफर्मको रूपमा काम गरेको र परियोजनाको प्रभावकारी कार्यान्वयनलाई थप सुदृढ बनाएको सहभागिहरुले जनाएका थिए ।



