काम चित्तबुझ्दो नभए मन्त्री र सचिवको जिम्मेवारी हेरफेर हुन्छ : मुख्यमन्त्री शाही

  ।   २०७७ भाद्र ३, बुधबार १९:३५

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कार्यसम्पादन करार सम्झौताअनुसार कार्य प्रगति नदेखिए विभागीय मन्त्री र सचिवको जिम्मेवारी पुनर्विचार गरिने बताउनु भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी बहन गरिरहेका शाहीले बुधबार मन्त्रालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गर्दै चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेश सरकारले कार्यसम्पादनका आधारमा मूल्यांकन गर्ने पद्धति स्थापना गर्न लागेको भन्दै मुख्यमन्त्री शाहीले कार्यप्रगति देखाउन नसक्ने मन्त्री र सचिवलाई जिम्मेवारीमा बसिरहने नैतिक अधिकार नहुने स्पष्ट पार्नुभयो ।

कार्यसम्पादन करार सम्झौतामा कार्य जिम्मेवारी, समयसिमा र प्रगतिका सुचकहरु स्पष्टसँग तोकिएकोले पनि समय सीमाभित्र प्रगति नदेखिए जिम्मेवारीबाट हटाउने उहाँको भनाइ थियो।

विकास र समृद्धिको जनचाहना पूरा गर्न नसके संघीय व्यवस्थाको औचित्यमा प्रश्न उठ्ने भन्दै उहाँले जनतालाई अनुभूत हुने गरी काम गर्न कर्मचारीलाई समेत निर्देशन गर्नुभएको छ ।

उहाँले मन्त्रालय मातहतका कार्यालय प्रमुखहरुसँग छिटोभन्दा छिटो कार्यसम्पादन करार सम्झौता गरी बजेट कार्यान्वयन प्रक्रिया बढाउन निर्देशन दिनुभयो। थाहाखबर

Next Post

कोरोनाका कारण पत्रकारमा गम्भीर मनोवैज्ञानिक तथा आर्थिक असर

२०७७ भाद्र ३, बुधबार १९:३५
काठमाडौं । कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक तथा आर्थिक रुपमा गम्भीर असर परेको एक अध्ययनले देखाएको छ। नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्य स्थित बर्नमोथ विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणमा पत्रकारलाई मानसिक असर पर्दा सञ्चार माध्यमका सामग्री उत्पादनमा ह्रास आएको देखाएको छ। बुधबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार सो अवस्था […]

सम्बन्धित शीर्षक