बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व, जात्रा तथा उत्साव मनाउन सबैमा अपिल गर्नुभएको छ ।
नेपालीहरुको महान पर्व छठ, २०७७ को अवसरमा बिहीबार जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ । उहाँले सन्देशमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ को जोखिमबाट नागरिकलाई जोगाउन सरकारको पहल कदमीमा सबैको सार्थक सहयोगको खाँचो रहेको, कोरोना नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य सम्बद्ध सबैप्रति यस अवसरमा उच्च सम्मान व्यक्त गर्नुभएको र कोरोना संक्रमित लगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकता दिदै अघि बढेको उल्लेख गर्नुभएको छ ।
“सूर्य, नदी, पोखरी—तलाउ जस्ता प्रकृतिका अमूल्य उपहार छठ पर्वमा प्रयोग हुन्छन्”, उहाँले सन्देशमा भन्नुभएको छ, “यो पर्वमा प्रयोग गरिने कृषि उत्पादन ग्रामीण अर्थतन्त्रका एउटा आधार हुन् । मानिस र प्रकृतिबीचको सन्तुलित सम्बन्धले मात्रै उज्यालो भविष्यको आशा गर्न सकिन्छ । मानिस र प्रकृति बीचको असन्तुलनले मानिसको मात्रै नभएर अन्य जीवजन्तुको समेत भविष्य अनिश्चित हुन्छ ।” मुख्यमन्त्री पोखरेलले समुदाय विशेषका पर्व सबैको साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद मान्न थलिएको बताउँदै कुनै क्षेत्र र समुदाय विशेषको छठ सबैको साझा पर्व बनेको र यो पर्वले समाजलाई एकाकार भई सकारात्मक बल प्रदान गर्नुका साथै छठले समाजमा भातृत्वको वातावरण बनाउन मात्रै नभएर सिंगो प्रकृतिलाई माया गर्दै सहकार्य गर्न सन्देश दिएको बताउनुभयो ।
नेपाल भौगोलिक मात्रै नभई सांस्कृतिक विविधतायुक्त मुलुक हो । विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि हुन् । विभिन्न समुदायले मनाउने पर्व र संस्कृतिले विविधतायुक्त समाजलाई एकताको मालामा बाँध्न संभव भएको छ । समाजमा मनाइने पर्व र संस्कृतिले एकता, भातृत्व,सहकार्य र मेलमिलापको वातावरण बनाइरहेका छन् । कुनै समुदाय विशेषले मनाउने पर्व अब कुनै समुदाय विशेषका मात्रै रहेनन् । कुनै समुदाय विशेषले महत्वका साथ मनाउने पर्व अहिले सबै नेपालीको साझा बन्दै गएका छन् । समुदाय विशेषका पर्व सबैको साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद मान्नुपर्छ । उहाँले शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
#लुम्बिनी प्रदेश #मुख्यमन्त्री शङ्कर पोखरेल #शङ्कर पोखरेल #चाडपर्व #जात्रा #उत्साव #पर्व छठ #छठ




