नेपालगंज/ बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३४ जना पुगेको छ । आज मात्रै पनि नयाँ ४ जना संक्रमित थपिएका छन । तर निको हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले दिनुभएको जानकारी अनुसार हाल सम्म ४ सय ६४ जना कोरोना संक्रमित निको भइसकेका छन ।
हेरालु समेत गरी अहिले आइसोलेसनमा २ सय ७६ जना संक्रमित मात्र रहेका छन । हाल सम्म मृत्युभएका ३ जनाको मात्र कोरोनाको संक्रमण पुष्टि भएको छ ।
यसै बीच आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सहित उपमहानगरपालिकाका ४ अधिकृत लगायत ११ जना संक्रमित निको भएर फर्किएका छन ।
कोरोना विशेष अस्पताल खजुरामा भर्ना हुनुभएका वडा अध्यक्ष प्रमोद रिजाल लगायत उपमहानगरपालिकाका ४ जना अधिकृतहरुलाई साउन १९ गते कोरोना पुष्टि भएको थियो ।
यता, भेरी अस्पताल नेपालगंज बाँकेले सार्वजनिक गरेको तथ्यांक अनुसार आज कोरोना भाइरसका १४ जना नयाँ संक्रमित फेला परेका छन ।
जसमध्ये पन्चपुरी ५ सुर्खेत एक २६ बर्षिया महिला, बारबर्दिया १ बर्दियाका एक २२ बर्षिया महिला, ठाकुरबाबा नगरपालिका बर्दियाका ४ जना, गेरुवा गाउँपालिका २, गुलरिया नगरपालिका २, नेपालगंजका ३ र कोहलपुरका १ जना संक्रमित रहेका छन ।
भेरी अस्पतालको पीसीआर ल्यावमा प्राप्त २९ हजार ६ सय ८२ वटा नमुना मध्ये २९ हजार ४ सय नमुनाको जाँच कार्य सकिएको छ । पीसीआर जाँच गरिएका मध्ये १ हजार २ सय ८२ जना ब्यक्तिलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।