लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

  ।   २०७७ कार्तिक ८, शनिबार १२:०५


देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य सुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ ।

तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन सुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ । राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित बिहीबार छलफल भएको प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिनुभयो । ‘‘पूर्वाधारहरु छन्’’, प्रदेशसभा सदस्य थारुले भन्नुभयो, ‘अब संसद् बैठक देउखुरीमा चलाउन सकिन्छ र चलाउनुपर्छ ।’’

प्रदेश प्रमुख सचिवसँग सदन चलाउन सक्ने गरी व्यवस्थापन गर्न सकिने ठोकुवा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गर्नुभयो । ‘‘हामीले पहिलेदेखि नै भन्दै आएका छौँ, जिम्मेवारी लिन तयार छौँ,’’ उहाँले भन्नुभयो, ‘हामीले ठाउँ सबै ठाउँ देखाएका छौँ ।’’ राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेशसभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेको जनाइएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रदेशको स्थायी राजधानीसँग जोडिएका विषयमा प्रदेश सचिवसँग छलफल भएको जानकारी दिनुभयो । ‘‘पूर्वाधार भएका क्षेत्रमा पुगेर सरसर्ती हेर्ने काम भएको छ । यसबारे थप अध्ययन र छलफलबाट टुंगो लाग्न सक्छ,’’ उहाँले भन्नुभयो । राप्ती प्राविधिक शिक्षालय, राप्ती गाउँपालिका, दाङका प्रजिअ, सुरक्षा अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखहरुसँग छलफल भइसकेको छ ।

एक हजार बिघा सरकारी जग्गा

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले राप्ती गाउँपालिकाका सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाका गोवरडिया र पत्रिङ्गा क्षेत्रबाट एक हजार ४२० बिघा सरकारी, पर्ती, गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको नापी कार्यालय लमहीका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । ‘‘अहिले त फिल्डबुक हेरेर मात्रै रेकर्ड पठाएका छौँ । दसैँ पछि राजधानी राख्न उपयुक्तस्थल हेरेर प्रतिवेदन पठाउने छौं ।

पूर्वाधार विकास प्राधिकरणको कार्यालय

दसैँलगत्तै पूर्वाधार विकास प्राधिकरणको कार्यालय राप्ती गाउँपालिकामा स्थापना हुने भएको छ । यो प्रदेश राजधानी भएपछि स्थापना हुने पहिलो कार्यालय हुनेछ ।

प्राधिकरण कार्यालय प्रदेश स्थायी राजधानीको दीर्घकालीन योजना तयार पार्नका लागि स्थापना गर्न लागिएको गाउँपलिकाका अध्यक्ष सुवेदीले बताउनुभयो । रासस

फाइल तस्बीर

Next Post

कोभिड–१९ ले सिर्जना गरेका चुनौती सामना गर्दै अघि बढ्छौँ : अर्थमन्त्री पौडेल

२०७७ कार्तिक ८, शनिबार १२:०५
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताउनुभएको छ । कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताउनुभएको हो । शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले कतिपय कानुनी नियमगत प्रबन्ध अथवा अरु […]

सम्बन्धित समाचार