मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको बैठक

  ।   २०८३ आश्विन २८, बुधबार १७:५३

मधुवन । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको समन्वय र समुदायस्तरको सक्रियतालाई प्रभावकारी बनाउने उद्देश्यले मधुवन नगरपालिकामा गठित स्थानीय मानब बेचबिखन नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाको सहकार्यमा आयोजित सो बैठकले मानव बेचबिखनविरुद्ध सञ्चालन भइरहेका गतिविधिको प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनालाई थप नतिजामुखी बनाउने विषयमा छलफल गरेको हो ।

मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, समितिका सदस्य सचिव इन्द्रा चुनारा, स्थानीय मानब बेचबिखन नियन्त्रण समितिका सदस्यहरू इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सैलेन्द्र खड्का, माइती नेपाल, साना हात तथा बाँके युनेस्को क्लबका परियोजना संयोजकहरू ईश्वर बी.क. र गोविन्द प्रसाद लामिछाने, फिल्ड सुपरभाइजर सावित्रा भाट लगायतको सहभागिता रहेको थियो ।

बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.क. र गोविन्द प्रसाद लामिछानेले सुरक्षा परियोजना तथा सेफ फ्युचर परियोजना अन्तर्गत सञ्चालित गतिविधि, हालसम्मको प्रगति र मानव बेचबिखन रोकथामका लागि गरिएका प्रयासबारे प्रस्तुतीकरण गर्नुभयो ।

बैठकको मुख्य एजेन्डा अन्तर्गत स्थानीय मानब बेचबिखन नियन्त्रण समितिको कार्ययोजनाको प्रगति समीक्षा, समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सञ्चालन गरिने मानव बेचबिखनविरुद्धका सचेतनामूलक अभियान, सूचना केन्द्रहरूको नियमित अनुगमन तथा सीमावर्ती क्षेत्रका समुदायमा देखिन सक्ने बेचबिखनका जोखिमको पहिचान र न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो ।

बैठकले कार्यक्रम सञ्चालन र सहभागितामा मात्र सीमित नभई कार्ययोजना अनुसार भएका गतिविधिबाट समुदायमा परेको प्रभाव, जोखिममा रहेका बालबालिका तथा व्यक्तिसम्म सूचना पुगे–नपुगेको अवस्था र सूचना केन्द्रहरूको प्रभावकारितालाई समेत नियमित रूपमा अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । मन्तव्यका क्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले मानव बेचबिखनसँगै लागुऔषध दुव्र्यसन पनि समाजको जटिल समस्याका रूपमा देखा परेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै सरोकारवालाहरू गम्भीर र सक्रिय हुनुपर्ने बताउनुभयो ।

बैठकको समापन गर्दै अध्यक्ष तथा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले मानव बेचबिखन रोकथामका लागि सबै सरोकारवालाले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार, समिति सदस्य, सुरक्षा निकाय, समुदाय र साझेदार संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै रोकथामका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकले कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, समुदायस्तरको सचेतना अभिवृद्धि गर्ने, सूचना केन्द्र तथा सीमावर्ती समुदायको संयुक्त अनुगमनलाई प्राथमिकता दिने र मानव बेचबिखनसम्बन्धी जोखिमको पहिचान तथा सम्बोधनमा सरोकारवालाबीच समन्वय सुदृढ गर्ने साझा प्रतिबद्धता गरेको छ । सुरक्षा परियोजना बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको परियोजना हो, जसले बालबालिका, परिवार, विद्यालय, समुदाय तथा स्थानीय सरकारको क्षमता सुदृढ गर्दै मानव बेचबिखनको रोकथाम र बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पु¥याउँदै आएको छ ।