प्रदेश १ मा संक्रमितको उपचार निःशुल्कै

  ।   २०७७ कार्तिक ४, मंगलवार ०७:३०

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए।

‘यो महामारीमा सबै नागरिक समस्यामा छन्। हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भन्नुभयो, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ। यसमा सबै ढुक्क हुनुहोस्।’

उहाँका अनुसार प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था छैन। कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने उहाँको भनाइ छ। ‘महामारीमा सबै लडेकै छौं। सबै आआफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सरकारको अभियानलाई साथ दिए मात्रै यो सफल हुन्छ।’

प्रतिपक्षी कांग्रेसले भने प्रदेश सरकारको यो भनाइमा शंका व्यक्त गरेको छ। संघीय सरकार कोरोना संक्रमितको उपचार र व्यवस्थापनबाट अलग्गिइरहेको समयमा प्रदेशले मात्रै भनेर नहुने तर्क कांग्रेसको छ। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले बोलेर मात्रै केही नहुने बताउनुभयो । ‘यसअघि त व्यवस्थापनमा लाचार बनेको प्रदेश सरकार संघीयले खुट्टा झिक्दा व्यवस्थापनमा दह्रो होला ?’, कार्कीले प्रश्न गरे, ‘प्रदेश सरकारले यसअघि नै व्यवस्थापनमा आफू सक्षम नभएको देखाइसक्यो।’

प्रदेशको राजधानी विराटनगरमा मात्रै ३० जना संक्रमितले ज्यान गुमाउँदा पनि प्रदेश सरकार गम्भीर नबन्नु यसको पहिलो उदाहरण भएको उहाँको तर्क छ। कोरोना जनसुरक्षा कोष खडा गरी रकम संकलन गरे पनि पारदर्शी रूपमा खर्च गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ। अन्नपूर्ण पोष्ट्

Next Post

आइसोलेशन सेन्टरलाई कोभिड अस्पतालका रुपमा विस्तार गरिने

२०७७ कार्तिक ४, मंगलवार ०७:३०
काठमाण्डौ । सरकारले आइसोलेशन सेन्टरलाई कोभिड अस्पतालका रुपमा विस्तार गर्ने भएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि देशभर अहिले सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकता अनुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रुपान्तरण गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयले प्रदेशमा कम्तीमा २ सय र काठमाण्डौ उपत्यकामा दुई हजारको […]

सम्बन्धित शीर्षक