नेपालगन्ज । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेश सभामा दर्ता भएको प्रस्तावलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं. ५ संसदीय दलको बैठकले सर्वसम्मत पारित गर्ने निर्णय गरेको छ ।
नेकपा प्रदेश नं. ५ संसदीय दलको बैठक संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवास डिभिजन सडक कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । प्रदेशको राजधानी र नामाकरणका विषयमा शुक्रबार प्रदेश मन्त्रिपरिसद बैठकले स्थायी राजधानी भालवाङ केन्द्रित देउखुरी क्षेत्रमा बनाउने निर्णय गरेको थियो । प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । नेकपा निकट सांसदहरुले सभामा भाग लिदा आफ्ना विचार व्यक्त गरेपनि सरकारले प्रस्ताव गरेको राजधानीको केन्द्र र नामाकरणका पक्षमा मतदान गर्ने निर्णय भएको सांसद आइपी खरेलले जानकारी दिनु भयो ।
नेकपा संसदीय दलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदहरुसँग प्रदेशको राजधानी र नामाकरणका लागि एकमत बनाउन आइतबार छलफल गर्ने निर्णय समेत गरेको सांसद खरेलले जानकारी दिनु भयो ।
मन्त्रिपरिसद बैठकले पारित प्रस्तावलाई प्रदेश सभामा शुक्रबार आन्तिरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले टेबुल गर्नु भएको छ । सरकारका तर्फबाट प्रस्तुत गरिएको प्रदेशको स्थायी राजधानी र नामका विषयमा नेपाली काँग्रेसका सांसदहरुले समेत स्वागत गरेका छन ।
प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१, बिपक्षी नेपाली कांग्रेसका १९, मधेस केन्द्रित दलका ६, राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासदहरु रहेका छन् ।