नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ गरिने

  ।   २०७७ आश्विन १६, शुक्रबार १८:४७
                                                                                                                     प्रतिकात्मक तस्बिर

काठमाण्डौ । कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने गरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित ‘फ्याबिपिराभेल’ नामक औषधिलाई कोभिड‍–१९ का लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ ।

परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले कोरोनासँग मिल्दो भाइरसका लागि जापान, चीन, रसियालगायत देशमा प्रयोग भइरहेको ‘फ्याबिपिराभेल’ नामक औषधिलाई कोभिड–१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताउनुभयो । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको बताउनुभयो ।

त्यो औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभागको स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ र त्यो औषधिलाई कोभिड–१९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको उहाँले बताउनुभयो ।

यसबाहेक नेपालमै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ । परिषद्का सदस्य सचिव ज्ञवालीले प्रदेश नं. ५ र प्रदेश नं. २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको बताउनुभयो । जसमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो) को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको बताउनुभयो ।

खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यताअनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । आयुर्वेद अस्पतालले कोरोनाका बिरामीहरुलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडीबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ । यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरसजन्य रोगका लागि औषधि बनाउने नेपाल पहिलो देश हुनेछ । उज्यालो अनलाइन

Next Post

प्रदेश–५ को राजधानी भालुवाङ, नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

२०७७ आश्विन १६, शुक्रबार १८:४७
बुटवल । प्रदेश नम्बर– ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ । शुक्रबार सरकारका तर्फबाट प्रदेश– ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गराउनुभएको हो […]