गुड न्युज सम्बाददाता
नेपालगन्ज । संविधानसभा सदस्य अशोककुमार रोकाया ‘सङ्कल्प’को निधन भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति १ः३२ बजे उहाँको निधन भएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२, ढकेरी उद्यानका स्थायी बासिन्दा रोकाया ६९ वर्षको हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेकपा ९माओवादी०बाट समानुपातिकतर्फ २०६४ सालको संविधानसभा सदस्य बन्नुभएको थियो ।
अत्यन्तै सरल र बौद्धिक नेताका रूपमा पहिचान बनाउनुभएका रोकायाका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्थ्यो । जनयुद्धका क्रममा उहाँका दुवै छोराले सहादत प्राप्त गरेका थिए । त्यसपछि उहाँ श्रीमती र छोरीसँग बस्दै आउनुभएको थियो ।
उहाँकी छोरी मञ्जु रोकायाका अनुसार कान्छा छोरा महेन्द्र रोकायाले २०५८ फागुन ११ गते १६ वर्षको उमेरमा जनयुद्धका क्रममा सहादत प्राप्त गर्नुभएको थियो भने जेठा छोरा मनोज रोकाया २०५९ सालमा २५ वर्षको उमेरमा बेपत्ता पारिनुभएको थियो ।
छोरी मञ्जुका अनुसार रोकाया लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । असोज १६ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत उहाँको मङ्गलबार बिहान उपचारकै क्रममा निधन भएको हो ।
हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगको सचिवसमेत रहनुभएका रोकायाको पार्थिव शरीरलाई नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा लगेर अन्तिम श्रद्धाञ्जली दिइने र त्यसपछि पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने छोरी मञ्जुले जानकारी दिनुभयो ।
समकालीन राजनीतिककर्मीसमेत रहनुभएका राजनीतिक विश्लेषक एवं लेखक नरेन्द्रजङ्ग पिटरले रोकायालाई निडर स्वभावका सामाजिक नेताका रूपमा स्मरण गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “अहिले मेरो अगाडि २०४७ सालको त्यो दृश्य घुमिरहेको छ । उनी एक शिक्षक थिए, एक अग्रणी आलुका किसान थिए र एक निडर स्वभावका सामाजिक नेता पनि थिए । राजनीतिक रूपमा उनी माक्र्सवादी पार्टीमा आबद्ध थिए । उनी रुकुमबाट बसाइँ सरी बाँकेको ढकेरी उद्यान आएका थिए ।”
त्यसयता रोकाया नेकपा एकता केन्द्र, जनमोर्चा हुँदै नेकपा ९माओवादी० र जीवनको अन्तिम क्षणसम्म आफू संलग्न पार्टीमा निष्ठापूर्वक सक्रिय रहनुभएको पिटरले स्मरण गर्नुभयो ।
पिटरले रोकायाको स्मरण गर्दै भन्नुभयो, “माओवादीका धेरै नेताहरूका छोराछोरी वैदेशिक रोजगारी वा पढाइका सिलसिलामा भारततिरै रहिरहेका बेला बम्बईमा स्थापित भइसकेका आफ्ना सन्तानलाई देश फर्काएर जनयुद्धको आन्दोलनमा लामबद्ध गराउने सम्भवतः कमरेड सङ्कल्प एकमात्र त्यस्ता बुवा हुन् । युद्धका क्रममा उहाँका दुवै छोराले सहादत प्राप्त गरे । उहाँको सिङ्गो परिवार नै जनयुद्धमा होमिएको थियो । अब कमरेड सङ्कल्प हामीबीच रहनुभएन, उहाँ स्मृतिशेष हुनुभयो ।”


