कोहलपुर घटनाप्रति पत्रकार महासंघ बाँकेको गम्भीर चासो

पत्रकारिताको मर्यादा, गोपनीयता र मानवीय संवेदनशीलता जोगाउन आग्रह

  ।   २०८३ आश्विन १९, सोमबार १६:०८

सबिता चन्द 

नेपालगन्ज, ५ असोज । बाँकेको कोहलपुरस्थित एक मेडिकलमा युवतीको स्वास्थ्य जाँचका क्रममा भएको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न सामग्री सार्वजनिक भइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ बाँके शाखाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनासँग सम्बन्धित सामग्री सार्वजनिक गर्दा पत्रकारिता र सञ्चारमाध्यमले सत्य, तथ्य, सन्तुलन, जिम्मेवारी तथा मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको हो ।

विज्ञप्तिमा विशेषगरी युवती तथा संवेदनशील प्रकृतिका घटनामा पहिचान खुल्ने विवरण, तस्बिर वा भिडियो सामग्री सार्वजनिक गर्दा थप क्षति पुग्न सक्ने भएकाले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महासंघले पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने माध्यम नभई समाजप्रतिको जिम्मेवारीसमेत भएको स्मरण गराउँदै घटनासँग जोडिएका व्यक्तिको गोपनीयता, मर्यादा र संवेदनशीलताको पूर्ण सम्मान गर्नुपर्ने जनाएको छ । तथ्य पुष्टि नगरी सामाजिक सञ्जालमा आएका सामग्रीलाई आधार बनाएर समाचार बनाउने वा प्रसारण गर्ने प्रवृत्तिले सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्न सक्ने भन्दै महासंघले त्यसतर्फ सचेत गराएको छ ।

प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा पोस्ट वा प्रसारित भएका सामग्रीलाई मात्र आधार बनाएर पत्रकारिता र पत्रकारलाई आरोपित गर्नु उचित नहुने उल्लेख गरिएको छ । कुनै व्यक्ति वा संस्थाबाट पत्रकार आचारसंहिताविपरीत कार्य भएको भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने महासंघको स्पष्ट धारणा छ ।

त्यसैगरी, मिडियाको नाममा तथ्यको पुष्टि र गोपनीयताको ख्याल नगरी भिडियो सामग्री प्रसारण गर्ने, संवेदनशील विषयलाई सनसनीपूर्ण बनाउने तथा ‘भ्युज’, ‘फलोअर्स’ वा आर्थिक लाभका लागि सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रवृत्तिले पत्रकारिताको मर्यादामाथि नै प्रश्न उठाउने महासंघले जनाएको छ ।

महासंघ बाँकेले पत्रकारिता क्षेत्रको विश्वसनीयता, मर्यादा र जनविश्वास कायम राख्न सम्बन्धित सबैलाई जिम्मेवार र संयमित बन्न आग्रह गरेको छ । महासंघले आफ्ना सदस्य वा पत्रकारको आवरणमा पत्रकार आचारसंहिता, व्यावसायिक मर्यादा र मानवीय संवेदनाविपरीत कुनै गतिविधि भएको पुष्टि भए आवश्यक अध्ययन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने जनाएको छ ।

विज्ञप्तिमा कुनै व्यक्ति वा संस्थाको कमजोरीलाई आधार बनाएर समग्र पत्रकारिता, सञ्चारमाध्यम वा नेपाल पत्रकार महासंघलाई नै एउटै डालोमा राखेर नहेर्नसमेत आग्रह गरिएको छ।

महासंघ बाँकेले पत्रकार तथा सञ्चारमाध्यमलाई ‘भ्युज’ र आर्थिक लाभभन्दा सत्य, तथ्य, सामाजिक उत्तरदायित्व, पत्रकारिताको मूल धर्म र मानवीय संवेदनशीलतालाई प्राथमिकता दिन आह्वान गरेको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारिता समाजको ऐना भएकाले त्यसमा देखिने तस्बिर जिम्मेवार, सत्य र संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ । विज्ञप्तिले पछिल्लो घटनालाई लिएर देखिएको बहसलाई व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठाउँदै जिम्मेवार पत्रकारिता र मर्यादित सञ्चार संस्कृतिको पक्षमा उभिनुपर्ने सन्देश दिएको छ ।