सबिता चन्द
नेपालगन्ज । गत २०८२ सालको आम निर्वाचनपछि जुम्लामा सुरु गरिएको ‘२ सय २२ खुला आँखा अभियान’ राष्ट्रिय राजनीतिक परिस्थितिमा आएको फेरबदलसँगै औपचारिक रूपमा स्थगित गरिएको छ । अभियानका संयोजक मनऋषि धितालले जारी गर्नुभएको वक्तव्यमा अभियानको औपचारिक संरचना स्थगित भए पनि जनसेवा र सामाजिक रूपान्तरणको यात्रा भने निरन्तर जारी रहने स्पष्ट पारिएको छ ।
वक्तव्यअनुसार पाँच महिनासम्म सञ्चालन भएको अभियानले तय गरेका प्रमुख उद्देश्यहरू उल्लेखनीय रूपमा पूरा गरेको दाबी गरिएको छ । अभियानले कम्तीमा २ सय २२ वटा जनसेवामूलक गतिविधि सञ्चालन गर्ने, जुम्लाका २ सय २२ बस्तीमा जनसेवाको सन्देश पुर्याउने, २ सय २२ जना सामाजिक जनसेवक तयार गर्ने तथा निःस्वार्थ र निःसर्त जनसेवाको सामाजिक संस्कृति विकास गर्ने लक्ष्य लिएको थियो।
अभियानले निर्वाचनका बेला जनतासामु व्यक्त गरिएका राजनीतिक प्रतिबद्धतालाई निर्वाचनपछि व्यवहारमा उतार्दै सामाजिक अभियानका रूपमा रूपान्तरण गरेको जनाएको छ। परिणामभन्दा सेवालाई प्राथमिकता दिँदै जनसेवकहरू निरन्तर समुदायमा सक्रिय रहेको वक्तव्यमा उल्लेख छ।
पाँच महिनाको अवधिमा अभियानअन्तर्गत स्थानीय विद्युतीकरण, प्राकृतिक स्रोत संरक्षण, विपन्न तथा असहाय नागरिकलाई सहयोग, जनस्वास्थ्य र शिक्षामा सेवामूलक कार्यक्रम, सार्वजनिक संरचनाको सुन्दरीकरण, मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण, स्थानीय सरकारलाई सुशासन र सदाचारका लागि खबरदारी, लागूऔषध तथा मानव बेचबिखनविरुद्ध जनचेतना अभियान तथा जनसुरक्षा प्रवर्द्धन लगायतका विविध सामाजिक गतिविधि सञ्चालन गरिएको जनाइएको छ।
अभियानले अब समृद्ध, स्वाभिमानी, स्वावलम्बी, सदाचारी, स्वस्थ, सुरक्षित र सुन्दर जुम्ला निर्माणको साझा लक्ष्यसहित सामाजिक रूपमा अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै जुम्लासहित देशभर सञ्चालन हुने जनस्तरका रचनात्मक सामाजिक अभियानहरूसँग सहकार्य र सहयात्रा गर्ने घोषणा पनि गरिएको छ।
वक्तव्यमा जुम्लाबाटै देश र मानव समुदायका लागि नयाँ विचार, नयाँ दर्शन र उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा जनसेवकहरूको व्यापक परामर्शपछि अझ फराकिलो सामाजिक अभियान सार्वजनिक गरिने जानकारी दिइएको छ।
अभियानको सफलतामा योगदान पुर्याउने जनसेवकहरू, सहयात्रीहरू, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी, शिक्षक, बुद्धिजीवी, प्रशासन, सुरक्षा निकाय तथा स्थानीय सरकारहरू प्रति अभियानले आभार व्यक्त गरेको छ।
अभियान संयोजक मनऋषि धितालले सबै नागरिकलाई जुम्लाबाटै जनसेवा, विकास र समृद्धिको नयाँ विचार तथा दर्शन निर्माणमा आ–आफ्नो योगदान दिन आग्रह गरेका छन्।



