गुलरिया, बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत उच्चस्तरीय संयुक्त व्यवस्थापन बैठक बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।
बैठकको संयुक्त अध्यक्षता राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ तथा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले गर्नुभएको थियो । बैठकमा दुवै संस्थाका सञ्चालक समितिका सदस्यहरू तथा वरिष्ठ व्यवस्थापन टोलीको सहभागिता रहेको थियो ।
बाँके युनेस्को क्लबका अध्यक्ष सिद्दिकीका अनुसार बैठकको मुख्य उद्देश्य बाँके युनेस्को क्लब र राधाकृष्ण जनसेवा केन्द्रबीच रणनीतिक समन्वयलाई थप सुदृढ बनाउनु, संस्थागत सुशासनलाई प्रभावकारी बनाउनु तथा परियोजनाका सम्पूर्ण गतिविधिहरूको नजिकबाट अनुगमन र प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्नु रहेको थियो । राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बैठकमा अन्तरसंस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने, तथ्यांकको गुणस्तर र प्रगति प्रतिवेदनलाई विश्वसनीय तथा व्यवस्थित बनाउने, उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्ने तथा फिल्डस्तरका गतिविधिहरूलाई गुणस्तरीय ढंगले सञ्चालन गर्ने विषयमा विस्तृत छलफल भएको बताउनुभयो ।
बैठकका सहभागीहरूले परियोजनाको सफल कार्यान्वयनका लागि सशक्त टोलीगत कार्य, पारदर्शिता, आपसी विश्वास र नियमित समन्वय अपरिहार्य रहेकोमा जोड दिएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले जनाउनुभयो ।
तुलाधरका अनुसार बैठकले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि महत्वपूर्ण रणनीतिक निर्णयहरू समेत गरेको छ । जसअनुसार कन्सोर्टियम अन्तर्गत सञ्चालन हुने सम्पूर्ण गतिविधिमा एकीकृत संयुक्त ब्रान्डिङ लागू गरिने, प्रत्येक महिनामा संयुक्त प्रगति समीक्षा तथा अनुगमन बैठक सञ्चालन गरिने, साथै विषयगत प्रतिवेदन प्रणालीलाई एकरूपता प्रदान गरिने निर्णय गरिएको छ ।
त्यसैगरी, स्थानीय तहसँग प्रभावकारी समन्वय र परियोजनाको साझा स्वामित्व सुनिश्चित गर्न बर्दिया जिल्लाका सातवटै पालिकामा आगामी दिनहरूमा नगरस्तरीय परियोजना शुभारम्भ बैठक आयोजना गर्ने निर्णय पनि गरिएको छ । बैठकको समापनमा दुवै संस्थाका सञ्चालक समिति तथा कार्यकारी व्यवस्थापनले कन्सोर्टियम साझेदारीलाई उत्कृष्ट नमुनाका रूपमा स्थापित गर्दै बालबालिका, किशोरकिशोरी तथा युवाको सुरक्षित भविष्य निर्माणका लागि गुणस्तरीय, प्रभावकारी र दीगो उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


