सिराज खान
नेपालगन्ज । कोभिड १९ का कारण अति जोखिममा रहेका परिवारलाई आय आर्जनमा सहयोग गर्ने उदेश्यले युनेस्को बाँकेले बैजनाथ गाउँपालिकामा विभिन्न सामाग्री वितरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको साझेदारी र गिभ २ एसिया तथा मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकामा सञ्चालित कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना अन्तर्गत सो सामाग्री वितरण गरिएको क्लबले जनाएको छ ।
कोभिड १९ का कारण अति जोखिममा रहेका बैजनाथ गाउँपालिकाका १ देखि ४ नम्बर सम्मका चार वटा वडाका २४ परिवारलाई विभिन्न सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले सो गाउँपालिकामा आठवटै वडाका १२८ परिवारलाई आयआर्जनका लागि विभिन्न सामाग्री सहयोग गर्ने योजना रहेको जनाउँदै सबैलाई क्रमशः वितरण गरिंदै जाने बताउनुभयो । एक परिवारलाई २५ हजार रुपियाँ बराबरको सामाग्री वितरण गरिएको हो ।
वडा नम्बर १ का वडा अध्यक्ष रुप बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको सामाग्री वितरण कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष प्रेम बहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष रामचरण चौधरी, वडा नम्बर ४ का अध्यक्ष काली बहादुर सिंह, गाउँ कार्यपालिका सदस्य संगिता सुनार र बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले सामाग्री वितरण गर्नुभयो ।
२४ परिवारलाई आय आर्जनका लागि विरतण गरिएको सामाग्रीमा १० परिवारलाई बाख्रा, ८ परिवारलाई खुद्रा पसलको सामाग्री, एक परिवारलाई सिलाई मेसिन र अन्य सामाग्री तथा एक जनालाई मार्वलसम्बन्धि मेसिन लगायतको सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष चौधरीले बताउनुभयो ।
वडा नम्बर १ का वडा अध्यक्ष मल्लले क्लबले गरेको यो सहयोग निकै सराहनीय रहेको जनाउँदै यसबाट धेरै जनाको जिविका चल्ने र उनिहरुलाई दुई छाक टार्न सहयोग मिल्ने बताउनुभयो ।
सो परियोजना अन्तर्गत हालसम्म १० वटा सार्वजनिक स्थानहरुमा सन्देशमूलक होडिङ्ग बोर्ड जडान गरिएको, ११५५ जना किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिनुका साथै उनिहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन अभिमुखिकरण दिईएको तथा रेडियो मार्फत १ महिना सम्म सन्देशमूलक जिंगल प्रशारण गरिएको सो परियोजनाका कार्यक्रम अधिकृत अनुप बर्माले बताउनुभयो ।
उक्त अवसरमा क्लबका सहायक निर्देशक साजिद अलि सिद्दिकी लगायतको पनि उपस्थिति रहेको थियो ।