भेरी अस्पतालको १३६औँ वार्षिकोत्सवको तयारी पूरा, ट्राफिक व्यवस्थापनदेखि सेवा सुधार र कर्मचारी सम्मानसम्म विशेष कार्यक्रम

  ।   २०८३ श्रावण ११, सोमबार १८:५८

सबिता चन्द

नेपालगन्ज । पश्चिम नेपालकै ऐतिहासिक तथा प्रमुख स्वास्थ्य सेवा प्रदायकका रूपमा रहेको भेरी अस्पताल, नेपालगन्जको १३६औँ वार्षिकोत्सवको तयारी पूरा भएको छ। आज साउन १२ गते आयोजना हुने वार्षिकोत्सव समारोहलाई भव्य, सभ्य, व्यवस्थित र स्मरणीय बनाउन अस्पताल प्रशासन, विकास समिति तथा विभिन्न उपसमितिहरूले आवश्यक तयारी पूरा गरेका छन्।

१३६ वर्षको गौरवपूर्ण इतिहास बोकेको भेरी अस्पतालको वार्षिकोत्सवलाई केवल औपचारिक समारोहका रूपमा नभई अस्पतालको विगतको योगदानको समीक्षा, वर्तमान सुधारका प्रयासको मूल्याङ्कन र आगामी दिनमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

वार्षिकोत्सवलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापन
वार्षिकोत्सव समारोहमा सहभागी हुने अतिथि, कर्मचारी तथा सर्वसाधारणको आवागमनलाई सहज र सुरक्षित बनाउन अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई समेत पत्राचार गरी ट्राफिक व्यवस्थापनमा सहयोगका लागि अनुरोध गरेको छ। अस्पतालको पत्रअनुसार वार्षिकोत्सवका अवसरमा आयोजना हुने म्याराथन कार्यक्रम बिहान ५:३० बजेदेखि सञ्चालन हुनेछ। म्याराथनका लागि भेरी अस्पतालको गेटबाट सुरु भई चारबाहिनी चोक, गणेशमान चोक, विपी चोक, इदगाह रोड हुँदै त्रिभुवन चोकबाट पुनः भेरी अस्पतालको गेटसम्मको सडक मार्ग प्रयोग गरिनेछ।

म्याराथनका क्रममा उक्त रुटमा सहभागीहरूको आवागमन हुने भएकाले कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक ट्राफिक व्यवस्थापन तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायलाई अनुरोध गरिएको अस्पताल प्रशासनले जनाएको छ।

यसले वार्षिकोत्सव समारोह केवल अस्पताल परिसरभित्रको कार्यक्रम मात्र नभई नेपालगन्ज शहरसँग जोडिएको महत्वपूर्ण सार्वजनिक कार्यक्रमका रूपमा समेत अघि बढिरहेको देखाएको छ।

९ वटा नृत्य र एउटा नाटक प्रस्तुत हुने
वार्षिकोत्सव समारोहलाई थप आकर्षक बनाउन अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागितामा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ। समारोहमा ९ वटा नृत्य प्रस्तुति र एउटा नाटक प्रस्तुत गर्ने तयारी पूरा भएको छ। स्वास्थ्य सेवामा दिनरात खटिने चिकित्सक तथा कर्मचारीभित्र रहेको सिर्जनात्मक प्रतिभालाई उजागर गर्नुका साथै अस्पताल परिवारबीच आत्मीयता, सहकार्य र मनोरञ्जनको वातावरण निर्माण गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रमलाई विशेष महत्व दिइएको छ।

खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार
वार्षिकोत्सवको अवसर पारेर अस्पताल परिवारभित्र आपसी सद्भाव, सहकार्य, मित्रता र टीम भावना विकास गर्ने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गरिएको छ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागितामा सम्पन्न खेलकुद प्रतियोगिताले अस्पताल परिवारमा उत्साह र सकारात्मक वातावरण सिर्जना गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी हुने समूह तथा खेलाडीहरूलाई वार्षिकोत्सव समारोहका अवसरमा पुरस्कार वितरण गरिने भएको छ। खेलकुदलाई केवल मनोरञ्जनका रूपमा मात्र नभई कर्मचारीबीचको सम्बन्ध मजबुत बनाउने, मानसिक तनाव कम गर्ने तथा स्वस्थ र सकारात्मक कार्य वातावरण निर्माण गर्ने माध्यमका रूपमा समेत लिइएको छ।

उत्कृष्ट कार्य गर्ने र सहयोगीहरू सम्मानित हुने
वार्षिकोत्सव समारोहमा अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई समेत सम्मान गरिने भएको छ।।अस्पतालमा उत्कृष्ट कार्य गर्ने, जिम्मेवारीप्रति समर्पित भएर योगदान पुर्‍याउने तथा अस्पतालको विकास र सेवा सुधारमा सहयोग गर्ने व्यक्तिहरूलाई कदरपत्रद्वारा सम्मान गर्ने कार्यक्रम तय गरिएको छ। त्यसैगरी, १३६औँ वार्षिकोत्सव सफल बनाउन विभिन्न जिम्मेवारी सम्हाल्दै सक्रिय भूमिका निर्वाह गर्ने विभिन्न उपसमितिका सदस्यहरूलाई समेत कदरपत्र प्रदान गरी सम्मान गरिने भएको छ।

वार्षिकोत्सवको तयारीदेखि कार्यक्रम व्यवस्थापनसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैको भूमिकालाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्ने उद्देश्यले सम्मान कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

डा. नवीन दर्नालको आगमनसँगै सेवा सुधारका प्रयास
भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रूपमा डा. नवीन दर्नालको आगमनसँगै अस्पतालको सेवा प्रवाह र व्यवस्थापनमा सुधारका विभिन्न प्रयास अघि बढाइएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालको दैनिक सेवा प्रवाहलाई थप व्यवस्थित, जवाफदेही र प्रभावकारी बनाउने उद्देश्यले मर्निङ कन्फ्रेन्सलाई प्रभावकारी बनाउने अभ्यास सुरु गरिएको छ। बिरामीको उपचार अवस्था, सेवामा देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीबीच नियमित छलफल र समन्वय गर्ने वातावरण निर्माण गर्न मर्निङ कन्फ्रेन्सलाई महत्वपूर्ण माध्यमका रूपमा अघि बढाइएको बताइएको छ। त्यस्तै, अस्पतालमा सेवा लिन आउने बिरामी तथा सेवाग्राहीका समस्या र गुनासोलाई प्रत्यक्ष रूपमा सुन्ने तथा आवश्यक सहजीकरण गर्ने उद्देश्यले गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको छ। सेवाग्राहीका गुनासोलाई बेवास्ता नगरी सुन्ने, समस्या पहिचान गर्ने र समाधानका लागि पहल गर्ने संस्कार विकास हुनु अस्पतालको सुशासन र सेवा सुधारका दृष्टिले महत्वपूर्ण कदम मानिएको छ। यस्ता प्रयाससँगै अस्पतालमा सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाग्राहीमैत्री सेवा प्रणालीको सुरुवात गर्ने प्रयास भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

१३६ वर्षको इतिहाससँगै नयाँ यात्राको प्रतिबद्धता
भेरी अस्पताल पश्चिम नेपालका हजारौँ नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र हो। लुम्बिनी, कर्णालीलगायत विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीको चाप धान्दै आएको अस्पतालले सीमित स्रोतसाधनका बीच स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

१३६ वर्षको लामो यात्रामा भेरी अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याएको योगदान आफैंमा महत्वपूर्ण र ऐतिहासिक छ। समयसँगै नागरिकका स्वास्थ्यसम्बन्धी आवश्यकता र अपेक्षा बढिरहेका छन्। यस्तो अवस्थामा अस्पतालको सेवा प्रणालीलाई थप व्यवस्थित, आधुनिक, पारदर्शी र जनउत्तरदायी बनाउनु आजको प्रमुख आवश्यकता हो।

यसै सन्दर्भमा वार्षिकोत्सवको अवसरमा आयोजना हुने म्याराथन, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, विजयी समूह तथा खेलाडीलाई पुरस्कार वितरण, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सहयोगीलाई सम्मान र उपसमिति सदस्यलाई कदरपत्र प्रदान गर्ने कार्यक्रमले अस्पतालभित्रको एकता, सहकार्य, सम्मान र टीम भावनालाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

भेरी अस्पतालको १३६औँ वार्षिकोत्सव यस वर्ष केवल १३६ वर्षको इतिहास सम्झने अवसर मात्र नभई सेवा सुधार, सुशासन, कर्मचारीको सम्मान र नागरिकप्रतिको उत्तरदायित्वलाई नयाँ उचाइमा पुर्‍याउने संकल्पको अवसर बन्ने अपेक्षा गरिएको छ।

अस्पतालको गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै वर्तमानका चुनौतीलाई आत्मसात् गरेर भविष्यमा अझ गुणस्तरीय, प्रभावकारी र जनउत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतासहित आयोजना हुन लागेको १३६औँ वार्षिकोत्सवले भेरी अस्पतालप्रति नागरिकको विश्वास थप मजबुत बनाउने विश्वास गरिएको छ।

वार्षिकोत्सव समारोहमा पूर्वमन्त्री तथा संघीय सांसद मोहम्मद इस्तियाक राई प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ भने समारोहको अध्यक्षता अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्ट प्रसाद धितालले गर्नुहुने भएकोछ ।

सम्बन्धित शीर्षक