नेपालगन्ज, । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालिका शसक्त परियोजना अन्तर्गत सो सहयोग सामग्री हस्तान्तरण गरेको हो । स्थानीय तहहरूको विपद् पूर्वतयारी, प्रतिकार्य क्षमता तथा समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार यस सहयोगले स्थानीय सरकार तथा समुदायलाई सम्भावित विपद्का समयमा प्रभावकारी तयारी तथा प्रतिकार्य गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रम अन्तर्गत सहयोग सामग्री उपलब्ध गराउनुका साथै युवा स्वयंसेवकहरूलाई विभिन्न क्षमता विकास कार्यक्रममार्फत सशक्त बनाइएको छ । प्रशिक्षित युवाहरूले आफ्ना समुदायमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
विपद् जोखिम न्यूनीकरणका विषयहरू मासिक समन्वय बैठकहरूमा नियमित रूपमा छलफल हुँदै आएको छ । बैठकहरूमा पूर्वतयारी योजना, जोखिम व्यवस्थापन, सरोकारवालाबीचको सहकार्य तथा सञ्चालन भइरहेका गतिविधिहरूको समीक्षा गरिने गरिएको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले स्थानीय सरकारहरूसँगको निरन्तर समन्वय र सहकार्यमार्फत विपद् जोखिम न्यूनीकरणका विषयलाई स्थानीय नीति, योजना तथा विकास कार्यक्रमहरूमा समावेश गर्न विशेष पहल गर्दै आएका छन् । मधुवन नगरपालिकामा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख तेज बहादुर भाट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने र कार्यक्रम अधिकृत बिजय शर्माको सहभागिता रहेको थियो ।
त्यसैगरी, गुलरिया नगरपालिकामा उपप्रमुख सबित्रा गौतम, वरिष्ठ सामाजिक विकास अधिकृत तथा डिआरआर फोकल पर्सन मुकुन्द अर्याल लगायतको उपस्थिति रहेको थियो । बढैयाताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, डिआआर फोकल पर्सन तथा बाँके युनेस्को क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले विपद् जोखिम न्यूनीकरण प्रणालीलाई थप प्रभावकारी बनाउँदै दिगो र उत्थानशील समुदाय निर्माणमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम अन्तर्गत प्रदान गरिएको सहयोग सामग्रीको कुल मूल्य २ लाख ३५ हजार ८ सय रहेको जनाईएको छ । कार्यक्रममा सहभागी सबै सरोकारवालाहरूले आजको पूर्वतयारीले भोलिको सुरक्षित, सबल र उत्थानशील समाज निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै विपद् जोखिम न्यूनीकरण तथा समुदायको उत्थानशीलता अभिवृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।


