पहिलो महिला मुख्यमन्त्री शाक्यद्वारा शपथ, दुई मन्त्री नियुक्त

  ।   २०७८ भाद्र ३, बिहीबार ०७:०८

काठमाण्डौ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।

उहाँले हिजो अबेर वाग्मती प्रदेशको मुख्यमन्त्रीको शपथ लिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको हो।

यो पनि पढ्नुहोस् ।
अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाक्यले दुई मन्त्री पनि नियुक्त गर्नुभएको छ । कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री शाक्यले नै राख्नुभएको छ ।

६७ वर्षअघि काठमाण्डौको झोछेँ टोलमा जन्मिएकी शाक्य १८ वर्षको उमेरमा एसएलसी परीक्षा पूरा गरेपछि चिनियाँ भाषा सिक्नुभएको थियो । रत्न राज्यलक्ष्मी क्याम्पसमा उच्च शिक्षाका लागि भर्ना भएकी शाक्यले तत्कालीन नेकपा मालेको सम्पर्कमा पुगेर जन्म घर छाडेरै भूमिगत राजनीति सुरु गर्नुभएको थियो ।

२६ वर्षको उमेरमा मालेकै नेता अमृत बोहोराका साथ भूमिगत रुपमा पार्टीकै आयोजनामा प्रगतिशील विवाह गरेकी शाक्यले देशमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएपछि २०५६ सालमा काठमाण्डौको ४ नम्बर क्षेत्रबाट निर्वाचित भएर त्यसको पाँच वर्षपछि पहिलो पटक महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभयो ।

त्यसैगरी तीन वर्षपछि उद्योग मन्त्री पनि बन्नु भयो । नेकपा एमालेका केन्द्रीय सदस्य, महिला विभाग प्रमुख, स्थायी समिति सदस्य हुँदै उपाध्यक्षमा निर्वाचित शाक्य पछिल्लो पटक काठमाण्डौ क्षेत्र नम्बर ८ बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

Next Post

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२०७८ भाद्र ३, बिहीबार ०७:०८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । अन्य प्रदेशहरूमा आंशिकदेखि र सामान्य बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम […]