सबिता चन्द
नेपालगन्ज । एक सामान्य झैँ देखिने बालबालिकाबीचको घटना अचानक हिंसात्मक रुप लिँदा नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित एक परिवार गम्भीर पीडामा परेको छ। स्थानीय बासिन्दा नारायण प्रसाद शर्माले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार, २०८२ साल वैशाख ३ गते बिहान करिब ९:३० बजे उहाँको घर अगाडि भएको सामान्य विवादले ठूलो दुर्घटनाको रूप लिएको हो।
शर्माका अनुसार केही बालबालिकाले घर अगाडि बाख्रा चराइरहेका बेला ती बाख्रा उहाँको आँगनमा पसी तरकारी बाली खान थाले। क्षति रोक्न उहाँले एउटा बाख्रा समातेर आँगनमा बाँध्नु भएको थियो । त्यसपछि एक बालिका बाख्रा लिन आएपछि उहाँले कुनै विवाद नगरी जिम्मेवार व्यक्तिलाई बोलाएर बुझाउन आग्रह गर्नु भएको थियो । तर, केही समयमै अवस्था अप्रत्याशित रूपमा तनावपूर्ण बन्यो। करिब ३०–३५ जनाको समूह बिना कुनै पूर्व जानकारी आक्रामक रूपमा घरमा प्रवेश गर्यो र ढुंगा, इँटा तथा निर्माण सामग्री प्रयोग गरी आक्रमण सुरु गर्यो। उक्त घटनाले घरपरिवार मात्र होइन, छिमेकीहरू समेत आतंकित बने। आक्रमणका क्रममा शर्मासहित उहाँका परिवारका सदस्यहरू घाइते भए। स्वयं शर्मा गम्भीर रूपमा घाइते भई हात भाँचिएको अवस्थामा उपचाररत हुनुहुन्छ । घरमा भौतिक क्षति पुगेको छ भने बालबालिकासमेत त्रसित अवस्थामा पुगेका छन् भन्दै उहाँले गुनासो गर्नुभएको छ ।
घटनापछि स्थानीयवासीको सहयोगमा प्रहरीलाई खबर गरिएको थियो। प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगिएको बताइएको छ। घटनामा संलग्न दुई मुख्य व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ । तर, घटनापछि पनि विवाद शान्त हुन सकेको छैन। शर्माले आरोप लगाएका छन् कि केही पक्षले घटनालाई तोडमोड गरी धार्मिक तथा जातीय रंग दिन खोजेका छन्, जसले समाजमा द्वन्द्व निम्त्याउने खतरा बढाएको छ। सामाजिक सञ्जालमा फैलिएका अपुष्ट र भ्रामक सूचनाले उहाँको व्यक्तिगत चरित्रमाथि समेत आघात पुगेको उहाँले गुनासो गर्नु भएको छ ।
पीडित शर्माले निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धानको माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ । साथै, आफ्नो परिवारको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। “सत्य तथ्यमा आधारित सूचना मात्र प्रवाह गरियोस्, भ्रामक प्रचारले समाजमा झन् भ्रम सिर्जना गर्छ,” भन्दै उहाँले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग जिम्मेवार बन्न अनुरोध गर्नु भएको छ ।
हाल उहाँ न्यायिक निकायबाट उचित न्याय पाउने आशामा हुनुहुन्छ, तर त्यो न्याय कहिले र कसरी मिल्छ भन्ने प्रश्न अझै खुल्लै छ।


