सबिता चन्द
नेपालगन्ज । बाँके क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका लागि भइरहेको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। दिउँसो ३ बजेसम्म करिब ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता तथा सहाय निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार बिहानदेखि नै मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन्। मतदाताको सक्रिय सहभागिताका कारण अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सहज र व्यवस्थित रूपमा अघि बढिरहेको छ।
मतदान केन्द्रहरूमा सर्वसाधारण मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरिरहेका छन्। स्थानीय बासिन्दाहरूले निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सञ्चालन भइरहेको बताएका छन्।
यस क्षेत्रका विभिन्न गाउँ तथा नगरका मतदान केन्द्रहरूमा युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक मतदानमा सहभागी भएका छन्। मतदाताको उल्लेखनीय उपस्थितिले लोकतान्त्रिक प्रक्रियाप्रति जनताको भरोसा झल्किएको स्थानीयले बताएका छन्।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीहरू मतदान केन्द्रमा परिचालित रहेका छन्। बाँके–२ मा देखिएको यो उत्साहजनक सहभागिताले निर्वाचनप्रति मतदाताको विश्वास र लोकतन्त्रप्रतिको प्रतिबद्धता स्पष्ट देखाएको छ।



