डा. डक्टप्रसाद धिताल
नेपालगन्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुभएका नरेन्द्र पाण्डे (जेम्स) ले समग्र विकास र सुशासनलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। “हिजो व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने अभियान” भन्ने मूल सन्देशसहित सार्वजनिक दस्तावेजमा उहाँले क्षेत्रको यथार्थ समस्या पहिचान गर्दै समाधानका ठोस खाका अघि सार्नुभएको छ।
उहाँको प्रतिबद्धतामा स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पूर्वाधार, सामाजिक न्याय, युवा तथा खेलकुद र सुशासनलाई प्राथमिकताका साथ समेटिएको छ। प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्ने तथा मातृ–शिशु स्वास्थ्य सेवामा विशेष ध्यान दिने योजना प्रस्तुत गरिएको छ। स्वास्थ्यलाई सेवाको रूपमा मात्र नभई अधिकारको रूपमा स्थापित गर्ने उहाँको भनाइ छ।
शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षाको विस्तार र युवालाई सीपयुक्त बनाउने कार्यक्रमलाई जोड दिइएको छ। “एक विद्यालय–एक प्राविधिक धार” जस्ता अवधारणामार्फत विद्यार्थीलाई रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ। शिक्षा प्रणालीलाई समयसापेक्ष, प्रतिस्पर्धी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
कृषि र उद्योगलाई आत्मनिर्भर अर्थतन्त्रको आधार मानेर पाण्डेले सिँचाइ विस्तार, मल–बीउको सहज उपलब्धता, चिस्यान केन्द्र निर्माण र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिनुभएको छ। “एक पालिका–एक औद्योगिक ग्राम” को अवधारणामार्फत साना तथा मझौला उद्योग प्रवर्द्धन गरी युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजना अघि सारिएको छ।
पूर्वाधार विकासतर्फ कोहलपुरदेखि राप्ती सोनारी र नरैनापुरसम्म सडक सञ्जाल विस्तार र स्तरोन्नति, अव्यवस्थित विद्युत आपूर्ति सुधार तथा बाँकी बस्तीमा विद्युत विस्तार गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ। सिँचाइ आयोजना पूर्णता र नयाँ परियोजनाको सुरुवातमार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ।
सामाजिक न्याय र समावेशीतालाई पनि प्रतिबद्धतापत्रमा विशेष स्थान दिइएको छ। दलित, महिला, मधेसी, थारु, मुस्लिम लगायत सबै समुदायको अधिकार सुनिश्चित गर्ने, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानुनी र व्यवहारिक पहल गर्ने योजना प्रस्तुत गरिएको छ। सामाजिक सुरक्षा र सीपमूलक तालिममार्फत पिछडिएका वर्गलाई आर्थिक मूलधारमा ल्याउने लक्ष्य राखिएको छ।
सुशासनका सन्दर्भमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई प्राथमिकता दिइएको छ। सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन डिजिटल प्रणालीको प्रयोग बढाउने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
युवा र खेलकुदतर्फ “एक पालिका–एक खेल मैदान” को अवधारणा अघि सार्दै खेल पूर्वाधार निर्माण, उद्यमशीलता तालिम र स्टार्टअप प्रवर्द्धनमार्फत युवालाई सकारात्मक दिशामा अग्रसर गराउने योजना प्रस्तुत गरिएको छ।
प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार पाण्डेले चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया नभई क्षेत्रको भविष्य निर्धारण गर्ने अवसर भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार बाँके–१ को विकासका लागि नारा होइन, स्पष्ट योजना र दृढ कार्यान्वयन आवश्यक छ। सार्वजनिक गरिएको दस्तावेजले चुनावी बहसलाई भावनात्मक नाराबाट नीति र कार्यक्रमको तहमा लैजाने प्रयास गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।



