सबिता चन्द
नेपालगन्ज । बाँके क्षेत्र नं. २ मा चुनावी माहोल केवल प्रचारको आवाजले होइन, जनताको भावनात्मक भरोसाले तातिँदै गएको छ । नेपालगन्जका गल्ली, टोल र बस्ती हुँदै मतदाता भेटघाटमा निस्किएका युवा नेता तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टलाई सर्वसाधारणदेखि युवा र व्यापारीसम्मले दिएको समर्थनले चुनावी वातावरणलाई नयाँ मोड दिएको छ।
घरदैलोका क्रममा एक युवाले खुलेर भने, “हामीले भोट तारालाई नै दिन्छौँ ।” त्यो वाक्य त्यत्तिमै सीमित रहेन। उनले आफूले मात्र तारा चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएनन्, अरु युवाहरूलाई पनि तारा चिन्हमै मतदान गर्न आग्रह गरे । यो दृश्यले युवापुस्तामा देखिएको राजनीतिक चेतना र संगठित सोचलाई झल्काएको छ।
त्यस्तै, नेपालगन्ज–४ बसपार्ककी दुर्गा धितालले पनि “तारालाई मतदान नगरेर के गर्ने ?” भन्दै सबैलाई तारा चिन्हमा मतदान गर्न अपिल गर्नुभयो । उहाँको सरल तर दृढ भनाइले वरपरका मतदातामा उत्साह थपेको देखिन्थ्यो ।
युवाहरू, सर्वसाधारण र व्यापारीसँग भेट्दै हिँड्दा एक व्यापारीले उम्मेदवार बिष्टलाई सिधै भने, “म त मेरो मत तपाइँको चुनाव चिन्ह तारामै हाल्छु ।” त्यो क्षण उम्मेदवार बिष्टका लागि केवल चुनावी समर्थन मात्र थिएन, विश्वास र इमानदार मूल्याङ्कनको सम्मान थियो । उक्त भनाइ सुनेपछि बिष्ट केहीबेर भावुक बन्नुभएको थियो ।
स्थानीयहरूका अनुसार युवा, जुझारु, परिश्रमी र सफल व्यवसायी भएका दिपेन्द्र बिष्ट सबैका आँखामा हाल्दा नबिझ्याउने उम्मेदवार बन्नुभएको छ । जनतासँग बसेर सुन्ने, बुझ्ने र समाधानको कुरा गर्ने शैलीले उहाँलाई अरूभन्दा फरक बनाएको प्रतिक्रिया स्थानीयको छ।
नेपालगन्जका गल्ली–गल्लीमा देखिएको यो समर्थन कुनै औपचारिक भाषणको परिणाम होइन, निरन्तर भेटघाट, व्यवहार र विश्वासको उपज भएको बताइन्छ । यही कारण बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टको अभियान चुनावी प्रतिस्पर्धाभन्दा माथि उठेर जनताको भरोसामा आधारित आन्दोलनजस्तै बन्दै गएको देखिन्छ।
यो चुनावमा मतदाताले केवल चिन्ह होइन, आशा, इमानदारी र भविष्य रोज्दैछन्—र त्यो रोजाइको केन्द्रमा तारा चिन्ह देखिन थालेको छ ।





