फेसबुक स्ट्याटसले बचायो सुत्केरीको ज्यान

  ।   २०७७ आश्विन ६, मंगलवार २२:२३

नेपालगन्ज । पछिल्लो समय सामाजिक संजालको प्रभावकारीता बढ्दो छ । समाजमा सामाजिक संजालका कारण कतिपय अप्रिय घटनाहरु समेत घट्ने गरेका छन । तर मंगलबार भने सामाजिक संजालकै कारण एक महिलाको ज्यान जोगिएको छ ।

दाङबाट सुत्केरी हुनकालागि भेरी अस्पताल नेपालगन्ज रेफर गरीएकी एक महिलाका बारेमा फेसबुकमा फेसबुक स्ट्याटस लेखेकै कारण ज्यान जोगिएको हो । तुलसीपुर उपमहानगरपालिका ७ की २६ वर्षिय गर्भवती निशा थापा मंगलबार बिहान ७ बजे भेरी अस्पताल नेपालगन्ज पुगेकी थिईन । ब्यथाले च्यापेर भेरी अस्पताल पुगेकी थापालाई अस्पतालले भर्ना गर्न मानेन । बिहान ७ देखी १० बजेको अवधिसम्म पनि अस्पतालले गर्भवती महिलालाई भर्ना नगरेको सूचना पाएपछि बाँकेका पत्रकार संगिन शर्माले भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा र भेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताललाई फोन गरे । लगातार ५५ पटकसम्म फोन गर्दापनि कुनै प्रतिक्रिया नआएपछि पत्रकार शर्माले फेसबुकमा एउटा स्टाटस लेखे । यस क्षेत्रकै चर्चित फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीमा पोष्ट भएको आधा घण्टाभित्रै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले उक्त स्टाटसमा प्रतिक्रिया जनाए । जसका कारण ति महिलाको उद्धार सम्भव भयो ।

सामाजिक संजालमा प्रतिक्रिया दिदैं कुरुम्वाङले गर्भवति महिलालाई अस्पतालमा भर्ना गरीएको जानकारी गराए । अस्पताल भर्ना भएको केही समयमै शल्यक्रिया विधिद्धारा ति महिलाले बच्चा जन्माईन । अहिले आमा र शिशुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

उक्त घटना सार्वजनिक भएसँगै अहिले सामाजिक संजालमा भेरी अस्पतालका बेतिथिका बारेमा बहस सुरु भएको छ । यसअघि समेत बिभिन्न समयमा यस्ता लापरवाहीहरु हुने गरेको भन्दै अधिकाशं फेसबुक प्रयोगकर्ताहरुले अस्पतालप्रति असन्तुष्टि जनाएका छन । पश्चिम नेपालकै ठुलो सरकारी अस्पतालका रुपमा स्थापित भेरी अस्पताल प्रशासनले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।

Next Post

वर्षा केही दिन जारी रहने

२०७७ आश्विन ६, मंगलवार २२:२३
काठमाडौँ । यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । आज (बुधबार) अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र […]